बैशाख–१४, लामो समयसम्म खडेरी लागेपछि खोटाङको नेर्पाका किसानले नागको पूजा गरेका छन् । लामो समयसम्म पानी नपरेपछि नेर्पा–८ का किसानले पानी माग्दै खोलामा गएर नागको पूजाआजा गरेका हुन् । 
गाउँका सय भन्दा बढि किसानले पुरोहितको साथमा स्थानीय छेपे खोलाको काली दहमा पुगेर पानी माग्दै बैदिक बिधिअनुशार नागको पुजाआजा गरेका छन् । पानी नपर्दा अन्नबाली लगाउन र खेतीपानी सपार्न समस्या भएको भन्दै शनिबार छेपे खोलामा नागको पुजा गरिएको स्थानीय कृषक डम्बर बास्तोलाले बताउनुभयो । पानीको अभावमा बैसाख बित्न लाग्दा समेत धानको बीउ राख्न नसकिएको र मकैको बिरुवा सुकेको भन्दै पानी मागिएको कृषकहरुको भनाइ छ । 
किसानको समुहले फलफुल र गाईको दुध चढाउँदै नागको नाममा धान, चामल, जौ, तिलले हवन गरेका छन् । नागलाई खुसी पार्न सके पानी पर्ने बिश्वासमा किसानहरुले नागको पुजा गरेको बताएका छन् ।
नेर्पा र दिक्तेलको सिमामा पर्ने काउछेस्थित काली दहमा बिभिन्न नाम गरेका नागहरु बस्ने गरेको जनबिश्वासमा लामो खडेरीको समयमा नागको पुजाआजा गरिँदैआइएको छ । लामो समयसम्म पानी नपरेको बेलामा बिगत ६० वर्ष अघिदेखि काली दहमा नागको पुजा गर्ने गरिएको बास्तोलाले जानकारी दिनुभयो । 
पुजाआजा गरेकै साँझ छिटफुट वर्षा भएपछि किसान हर्षित बनेका छन् ।