बैशाख–१५, कारागारको क्षमता भन्दा कैदीबन्दीको सख्या बढी भएपछि जिल्ला कारागार शाखा खोटाङमा समस्या भएको छ । महिला ३३ र पुरुष ६६ जनाको क्षमता भएको कारागारमा अहिले एक सय ५२ जना कैदीबन्दी भएपछि समस्या भएको हो ।
विभिन्न मुद्दामा एक सय ३५ जना पुरुष कैदीबन्दी र १७ जना महिला कैदीबन्दी रहेका छन् । जिल्ला कारगार शाखामा रहेका कैदीबन्दीहरुलाई खानेबस्ने, सुत्ने तथा सौचालय गर्न समस्या भएको कैदीबन्दीहरुको भनाइ छ ।
कारागार शाखाका जेलर चित्राखर आचार्यका अनुसार पुरुष कैदीतर्फ ४१ तथा एक महिला र थुनुवातर्फ ९४ पुरुष र १६ महिला रहेका छन् । तीमध्य कर्तव्य ज्यान मुद्दा अन्तर्गत एक सय जना, खुनडाँका ११, ज्यान मार्ने उद्योग आठ, जर्बजस्ती करणी छ, घरमा आगो लगाई ज्यान मार्ने उद्योग एक, सवारी ज्यान एक, बुहुविवाह दुई, जर्बजस्ती करणी उद्योग दुई, डाँका तथा हातहतियार खरखजना नौं, जर्बजस्ती चोरी दुई, ठगी एक, नकवजनी चोरी दुई, जर्बजस्ती करणीगरी ज्यान मार्ने उद्योग एक, रहजनी चोरी दुई, केही सार्वजनिक अपराध दुई र हाडनाता करणीमा एक जना रहेका छन् ।
कारागारमा दुई जना आश्रीत बालबालिका समेत रहेको कारगार शाखाले जनाएको छ । ९९ जनाको क्षमता रहेको कारगारमा कैदीबन्दीको सख्या बढेपछि खेलकुद तथा पुस्तकालयमा पुस्तकको समेत अभाव भएको छ । शाखामा पुरुष र महिलाका लागि चार–चारवटा शौचालय तथा दुई–दुईवटा नुहाउने काठा भएपनि पालो कुनुपर्ने अवस्था रहेको कैदीबन्दीहरुको उनीहरुको भनाइ छ । उनीहरु भन्छन्,–‘अन्य कामका लागि त पालो पनि कुर्न सकिन्थ्य, सौच गर्न नै पालो कुर्नुपर्दा ज्यादै समस्या भएको छ ।’
महिला कैदीबन्दीहरुका लागि तयार पारिएको भवनलाई बाह्रेर पुरुषहरुलाई राख्ने तयारी गरिएको आचार्यले जानकारी दिनुभयो ।