बैशाख–१५, खोटाङको लेकाली क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु चोरी निकासी बढेको छ । रेडापाण्डा, कालो भालु, सालक, चित्तल, राजपङ्खी लगायतका लोपोन्मुख वन्यजन्तु चोरी निकासी बढेको हो ।
फेदीको चिलिमलाहुरे, बगाले, फुङ्गालुङ, छिमालुङ, थामखर्क लगायतका सामुदायिक वनमा पाइने रेडपाण्डा निकासी हुन थालेको स्थानीय धनकुमार राईले बताउनुभयो । वन्यजन्तु चोरी निकासी गर्नेहरुका लागि जिल्लाको लेकाली क्षेत्रमा पर्ने घना जङ्गल अनकन्टारमा पर्ने भएकाले पनि चोरी निकासी बढेको राईको भनाइ । उहाँले भन्नुभयो,–‘यसमा सम्बन्धित निकायले चासो नदिएको देख्दा आश्चर्य लागेको छ ।’
यसबाहेक लोपोन्मुख कालोभालु समेत चोरी निकासी हुन थालेको स्थानीयले जानकारी दिएका छन् । पाथेकाको कोप्चे, मेरुङ लगायतका घना वनक्षेत्रबाट भालु मारेर त्यसको पित्त निकासी गरेको नाम नभन्ने शर्तमा एक स्थानीयले जानकारी दिएका छन् । उनी भन्छन्,–‘एउटा कालो भालु मारेर पित्त निकासी गरेबापत मोटो रकम हात पर्ने भन्दै सिकार गर्नेहरुको संख्या बढेको छ ।’
यसबारे जिल्लास्थित प्रहरीलाई थाहा भएको र चोरी सिकारीसंगै बसेर मासु समेत खाएर फर्किएको श्रोतले जानकारी दिएको छ । श्रोतले भन्यो,–‘सुरक्षा निकायले नै यसो गरेपछि कसरी नियन्त्रण गर्न सकिन्छ ? यसबारे सबैको चासो जान आवश्यक छ ।’ श्रोतले थप्यो,–‘जिल्लास्थित प्रशासन तथा सुरक्षा निकायलाई जानकारी गराउदा समेत चासो नदिएपछि उनीहरुको संलग्नता छ की भन्ने शंका उब्जिएको छ ।’
जिल्ला वन अधिकृत विश्वमणि आचार्यले जिल्ला वन कार्यालयमा समेत त्यसको जानकारी आएको र जिल्ला प्रशासन र सुरक्षा निकायलाई जानकारी गराएको बताउनुभयो । आचार्यले भन्नुभयो,–‘प्रशासनलाई जानकारी गराएकै हो, तर त्यसको कुनै पत्तो लागेन । चोरी निकासीको खबर पाएपछि सुराकी परिचालन गरिएको छ ।’
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सम्भावित क्षेत्रमा प्रहरी खटाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रहरी खटाएकै हो, त्यस्तो हो नै भने, जो सुकैले पनि सूचना दिन सक्नुहुन्छ, प्राप्त सूचनाको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाउने छौं ।’ जिल्लाका विभिन्न क्षेत्रमा पाइने अन्य लोपोन्मुख वन्यजन्तु पनि चोरी निकासी बढेको स्थानीयले जनाएका छन् । उनीहरुका अनुसार सालक, हुचिल लगायतका बहुमुल्यवान वन्यजन्तु चोरी निकासी बढेको हो ।
धितुङ, राजापानी, विजयखर्क, अर्खौैले, सल्ले, हलेसी, बतासे, लिच्किराम्चे, महेश्वरी, जलेश्वरी, हौचुर, कुभिण्डे लगायत दुई दर्जन गाविसबाट सालक चोरी निकासो हुने गरेको छ । सालकको खपटाबाट राम्रो आम्दानी हुने भएकाले चोरी निकासी बढेको स्थानीयको भनाइ छ ।
सालकको खपटा लिन खरिदे गाउँमै आउने भएकाले चोरी निकासी सहज भएको जनाइएको छ । एउटा सालकको खपटा दशदेखि २० हजारसम्ममा बिक्री हुने भएकाले खोजी–खोजी मार्ने गरेको स्थानीयको भनाइ छ ।
हुचिलबाट पनि राम्रो कमाइ हुने भएकाले रातभरि खोजी गरेर विक्री गर्ने गरेका छन् । एउटा हुचिलबाट तीन लाख रुपैयाँसम्म आउने भएकाले गाउँका युवा हुचिल खोजीमा लागेका छन् ।
मासुका लागि मृग, थार, घोरल, खरायोका साथै लोपोन्मुख राजपङ्खी, मुनाल, डाँफे, दुम्सी, मयुर, कालिज पनि मारिने क्रम बढेको छ ।