बैशाख–२०, सुनकोसीको बंशिलाघाटमा पुल निर्माणको माग गर्दै खोटाङको दक्षिणी चार गाविसका सर्वसाधारण सडक बिभागमा डेलिगेशन गएका छन् । उदयपुरको बेल्टार जोड्नेगरी सडक निर्माणमा जुटेका मौवाबोटे, पौवासेरा, चिसापानी र दिप्लुङका सर्वसाधारणले खोटाङ र उदयपुरको सिमामा पर्ने सुनकोसीस्थित बंशीलाघाटमा पक्की पुल निर्माणको माग गर्दै डेलीगेशन गएका हुन् ।
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, सभाषद बिशाल भट्टराई, कांग्रेसका युवा नेता भूपेन्द्र राई सहित सडक बिभागको कार्यालय काठ्माडौं पुगेका चार गाविसका सर्वसाधारणको टोलीले सुनकोसीमा दुई जिल्ला जोड्ने पुल निर्माणको माग राखेका हुन् । दुई जिल्लामा यातायात सेवा बिस्तार गर्नका लागि निर्माण गरिएको सडक जोड्नका लागि पुल अनिवार्य भएकाले पक्की पुल निर्माणको माग गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नीरबहादुर खड्काले बताउनुभयो । अध्यक्ष खड्काले भन्नुभयो– ‘दुई जिल्ला जोड्ने सडक बनाउन थाल्यौंँ, तर सुनकोसीमा पुल नभएसम्म सडक निर्माणले अर्थ राख्दैन, त्यही भएर हामीले पुल बनाउनका लागि सरकारलाई गुहार्न काठमाडौं आएका हौँ ।’
‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने अवधारणा अनुसार २०६६ सालदेखि उदयपुरको बेल्टारबाट खोटाङको पौवासेरा, मौवाबोटे, दिप्लुङ, चिसापानी हुँदै थामखर्क विमानस्थल जोड्ने ८० किलोमिटर लम्बाईको सडक निर्माण शुरु गरिएको स्थानीय उपभोक्ता खड्ग पुमा राईले बताउनुभयो । जिल्लाको दक्षिणी क्षेत्रलाई तराईसँग नजिक बनाउने उक्त सडक खोटाङ र उदयपुरका स्थानीयको संयुक्त सहभागीतामा निर्माण शुरु गरिएको हो ।
सडक बनाउनका लागि उपभोक्ताले घरको चौपाया समेत बिक्री गरेर आर्थिक सहयोग गरेको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणका लागि पौवासेरा गाबिसको १४ लाख, मौवाबोटे गाविसको १५ लाख ३८ हजार, दिप्लुङ गाविसको ६ लाख, चिसापानी गाविसको सात लाख ५० हजार र जिल्ला विकास समिति खोटाङको दुई लाख ५० हजार खर्च भइसकेको छ ।
उपभोक्ता तथा गाविस, जिविसको आर्थिक अनुदानमा हाल खोटाङतर्फ बंशिलाघाटदेखि पौवासेरा–७, ८ र ९ हुँदै १ सम्मको १० किलोमिटर सडक निर्माण गरिसकिएको अध्यक्ष खड्काको भनाइ छ । स्थानीयका अनुसार उदयपुरको सिद्धिपुर लुंगिनटारलाई जिरोपइन्ट मानेर शुरु गरिएको सडकको उदयपुरतर्फ हाल बेलटार–छुइला सडक खण्डमा यातायात सेवा सञ्चालनमा छ भने, छुईलादेखि बंशिलाघाटसम्मको तीन किलोमिटर सडक मर्मत गरिए सञ्चालन गर्न सकिने अवस्था छ ।
जिल्लाको दक्षिणी गाविसबाट उदयपुरको बेल्टारसम्म सिधा यातायात सम्पर्क स्थापित गर्ने निर्माणाधिन सडक पूरा गर्नका लागि बिभाग समक्ष आर्थिक सहयोग समेत माग गरिएको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सडक निर्माण गर्ने उत्साहमा घरको खसी, बाख्रा समेत बिक्री गरियो, तर रकमले पुगेन, पूरा गर्नका लागि हामीले आर्थिक सहयोग पनि माग गरेका हौँ ।’
हालसम्म सो सडकलाई राष्ट्रिय वा क्षेत्रीय सडकका रुपमा प्रस्ताव नगरिएको र गाविसको रकमले मात्र धान्न सक्ने अवस्था नभएकाले सबैलाई सहयोगको अपिल गरिएको उनीहरुको भनाइ छ । सडक बिस्तारले दक्षिणी गाविसको आर्थिक, कृषि, शैक्षिक, स्वास्थ्य, व्यवसायिक उन्नतीमा महत्वपूर्ण टेवा पु¥याउने उपभोक्ता समितिको दाबी छ ।
यसबाहेक दक्षिणी क्षेत्रका सर्वसाधारणले थाप्लोमा नाम्लो र हातमा तोक्मा बोकेर नुन ओसानुपर्ने बाध्यताबाट मुक्ती पाउने अध्यक्ष खड्काको भनाइ छ । खड्काले भन्नुभयो–‘अहिलेसम्म पनि हामीलाई नुन ओसार्नका लागि ढाकर र टेकुवा बोक्नुपर्ने अवस्था छ, कमसेकम सडक बन्यो भने यसबाट मुक्ती पाउँने छौँ ।’
सर्वदलीय टोलीले छुईला बंशिलाघाट सडक मर्मतकालागि जिल्ला विकास समिति उदयपुरलाई समेत आग्रह गरेको छ ।