जेष्ठ–१, खोटाङको पर्यटकीयस्थल हलेसीका अधिकांश होटल तथा पसल बीना इजाजत र बीना दर्ता सञ्चालनमा रहेको भेटिएको छ । हलेसी आउने तीर्थालु तथा पर्यटकबाट स्थानीय व्यवसायीले चर्को शुल्क लिएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो ।

स्थानीय होटल व्यसायीले हलेसी आएर बस्ने तीर्थालुबाट विभिन्न बहानामा चर्को शुल्क लिएको गुनासो आएपछि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय र उद्योग वाणिज्य संघले गरेको संयुक्त अनुगमनका क्रममा ८० मध्ये ७० वटा भन्दा बढि वटा होटल तथा खुद्रा पसलहरु इजाजत नलिइ र दर्ता नगरी सञ्चालन भइरहेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी तीलकराम पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,– ‘५÷६ वटा बाहेक अन्य होटल तथा पसलहरुको प्राइभेट फर्म दर्ता नगरी सञ्चालन भइरहेको पाइएको छ, यसलाई तत्काल अनुमती लिन आग्रह गरेका छौं ।’

अनुगमनका क्रममा हलेसीका ४५ वटा मदिरा पसल बीना इजाजत सञ्चालनमा रहेको भेटिएको छ भने, एउटै कोठाबाट खुद्रा तथा मदिराजन्य पदार्थ बिक्रीवितरण भइरहेको भेटिएको अनुगमन टोलीले जनाएको छ । उनीहरुलाई तत्काल आ–आफ्नो व्यवसाय दर्ता गर्न लिखित प्रतिबद्धता गराइएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
हलेसी आउने नेपाली बाहेक विदेशी पर्यटक समेत स्थानीय व्यवसायीद्वारा ठगिने गरेका छन् । श्रोतका अनुसार पर्यटकले कुनै सामान किने वा भाडामा प्रयोग गरेमा बजार मुल्यभन्दा चौगुणा बढी लिने गरेका छन् ।

हलेसी आउने पर्यटकबाट खान र बस्नका लागि स्थानीय व्यवसायीले चर्को शुल्क लिन थालेपछि विदेशी पर्यटक हेलिकोप्टर चार्टर गरेर आउने गरेका छन् । दिनहुँ चार÷पाँच वटा हेलिकोप्टर चार्टर गरेर विदेशी पर्यटक दर्शन गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिको भनाइ छ ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको त्रिधार्मिक स्थलका रुपमा प्रशिद्ध हलेसीमा जापान, अमेरिका, थाइल्याण्ड, भारत, भुटान, जापान, चीन लगायतका पर्यटक आउने गरेका छन् । काठमाडौं र तराईका जिल्लाबाट सिंधै यातायात सञ्चालन भएपछि पर्यटकको संख्या बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो ।

तराईसँगको सिधा यातायात सञ्चालन भएपछि यो वर्ष सबैभन्दा बढी तीर्थालु तथा पर्यटक आएको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो । उहाँका अनुसार यो वर्षभरि करिब एक लाख बढी विदेशी तीर्थालु तथा पर्यटक आएका छन् ।
हलेसी आउने तीर्थालुका लागि मुख्य आकर्षणको विषय महादेव, बसाहा, पञ्चवती, ककनी, भैरवथान, कालिकाथान, मुरधुम गुफा र गुम्बा हुन् । यहा“ रहेका देवीदेवताको पूजाआराधना गरे मनोकाङ्क्षा पूरा हुने विश्वास रहीआएको छ ।

हलेसी गैरीगुठका बाघबंशी राईले सिकार खेल्ने क्रममा महादेवगुफा पत्ता लगाएको बुढापाकाहरूको भनाइ छ । विक्रम सम्बत् १८६१ सालमा गिर्वाणयुद्ध विक्रम शाहले हलेसीका मनोहर गिरीलाई ताम्रापत्रमा लेखी महादेवस्थान महन्तपूजारीको जिम्मेवरी दिएको थियो । हलेसीमा रामनवमी, बालाचतुर्दसी, शिवरात्री र हरितालिका तिजमा ठूलो मेला लाग्छ ।