जेष्ठ २, सामुदायिक बनमा लागेको डढेलोले खोटाङमा दुई वटा घर नष्ट भएका छन् । जंगलबाट सल्किँदै आएको डढेलोले लिच्कीराम्चे–३ धुसेनीका बीरबहादुर राया र चन्द्रबहादुर रायाको घर जलेर नष्ट भएको हो ।
स्थानीय चण्डेश्वरी सामुदायीक बनबाट सल्किएको डढेलोले रायाद्धयको ५० लाख ३६ हजार मूल्या बराबरको धनसम्पत्ती नष्ट भएको छ । सिमपानी प्रहरीचौकीबाट गएको प्रहरीको टोलीले आगलागीबाट ५० लाख बढिको क्षति भएको स्थलगत मुचुल्का तयार पारेको छ । बुधबार साँझदेखि कुईभीरबाट लागेको डढेलोले बिहिबार दिउँसो रायाद्धयको घर जलेको स्थानीय गोपीकृष्ण राईले जानकारी दिनुभयो । हावाहुरीले उडाएर ल्याएको आगोले जंगल नजिक रहेको घर जलेको स्थानीयको भनाई छ ।
आगलागीमा बीरबहादुरको घर, मतान, नगद १० लाख, तीन तोला सुन, अन्न, कपडा, भाँडाकुँडा जलेको प्रहरीले जनाएको छ । आगलागीमा बिदेशबाट फर्किएका छोराको बिवाहकालागि जगेडा राखिएको नगद र सुन जलेको अग्नि पिडित बीरबहादुरको भनाई छ । बिवाहकालागि उहाँका दुई छोराहरु केही दिनअघि मात्र बिदेशबाट घर आएका थिए । आगलागीमा चन्द्रबहादुरको घर र घरमा राखिएका सबै सामग्री जल्दा ८ लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीमा घर जलेपछि राया परिवार बारीमा पाल टाँगेर बसिरहेका छन् । हावाहुरीका कारण अझै डढेलो नियन्त्रणमा लिन नसकिएको राईले बताउनभयो ।