जेष्ठ–६, विद्यार्थीलाई आकर्षण गर्न खोटाङको एक विद्यालयले अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेको छ । दोर्पाचिउरीडाँडा–८ बुवालुङ्स्थित अन्नपूर्ण माविले यसै वर्षदेखि अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरेको हो । 
अंग्रेजी विषयमा सक्षम बनाउने उद्देश्यका साथ यसै शैक्षिकसत्रबाट बाल कक्षा र कक्षा–एक देखि अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरिएको विद्यालयका शिक्षक राजनप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,–‘घट्दो विद्यार्थी संख्यालाई नियन्त्रण गर्नका लागि अंग्रेजी माध्यमबाट कक्षा शुरु गरेका हौं, यसप्रति अभिभावकहरुले पनि साथ दिएका छन् ।’ 
अंग्रेजी माध्यममा अध्ययनका लागि गाउँका बालबालिका सदरमुकामका निजी तथा बोर्डिङ स्कुल जानेक्रम बढेपछि गाउँमै अंग्रेजी माध्यमबाट पठन–पाठन शुरु गरिएको शिक्षक आचार्यको भनाइ छ । हाल बाल कक्षा र कक्षा एकबाट शुरु गरिएको अंग्रेजी माध्यमको पठन–पाठन हरेक वर्ष एक तहमाथि बढाउँदै कक्षा दशसम्म नै अपनाइने विद्यालयले जनाएको छ ।
विद्यालय श्रोतका अनुसार ३१ जना विद्यार्थी रहेको बाल कक्षालाई नर्सरी, एलकेजी र यूकेजीकारुपमा बिभाजन गरेर पठन पाठन शुरु गरिएको छ । पछिल्लो समय विद्यार्थीको घट्दो संख्या नियन्त्रण गर्न र विद्यार्थीको आकर्षणका लागि जिल्लाका केही सामुदायिक विद्यालयहरुले पनि अंग्रजी माध्यमबाट कक्षा शुरु गरिसकेका छन् ।