
जेष्ठ–८, खोटाङमा एक मजदुर निर्घात कुटिएका छन् । बालुवा ओसारे वापतको ज्याला माग्दा निर्मलीडाँडा–२ का रुद्र श्रेष्ठ निर्घात कुटिएका हुन् ।
गाउँको सडक निर्माणकाक्रममा बालुवा ओसार्ने काम गरेका श्रेष्ठलाई पैसा माग्दा निर्मलीडाँडा–९ का ‘या’ भनिने शुभकुमार राई, उनका भाई नवराज राई, निर्मलीडाँडा–७ का दिनेश हिङमाङ र पाथेका घर भइ नवराजका घरमा काम गर्दै आएका गोपाल दर्जीले निर्घात कुटपिट गरेका हुन् । बालुवा ओसारे वापत पाउनुपर्ने ५ सय रुपैयाँ ज्याला माग्दा श्रेष्ठमाथि चार जनाले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक रमेशकुमार देबले बताउनु भयो ।
कुटपिटबाट टाउकोमा चोट लागेका र ढाड तथा अनुहारमा नील ढाम बसेका श्रेष्ठलाई जिल्ला अस्पताल खोटाङले अन्यत्र रेफर गरेको छ । घाइते श्रेष्ठलाई गाडीमार्फत बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको आफन्तको भनाई छ । सिटी स्क्यान सेवाको अभावमा जिल्ला अस्पतालले श्रेष्ठलाई अन्यत्र रेफर गरेको हो ।
श्रेष्ठलाई उनीहरुले घरैमा गएर सुतीरहेको अवस्थामा कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक देबका अनुशार श्रेष्ठलाई काम लगाएर उल्टै कुटपिट गर्ने चारै जना फरार छन् ।