जेष्ठ–११, खोटाङको खाल्ले गाविसका आर्थिरुपमा बिपन्न पारिवारका १४ विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक बितरण गरिएको छ । निम्न आर्थिक स्तर भएका परिवारका छात्रछात्रालाई छनौट गरी पाँच विद्यालयमा अध्ययनरत दश छात्रा र चार जना छात्रलाई विद्यालय पोशाक, झोला तथा स्टेशनरीका सामाग्री प्रदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको ‘सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजना’ अन्तरगत उनीहरुलाई २० हजार बराबरको पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरिएको परियोजनाका फिल्ड कोअर्डिनेटर शारदाप्रसाद पहाडीले बताउनुभयो । खाल्ले बाल संरक्षण समितिको छनौटमा उनीहरुलाई आवश्यक पोशाक र स्टेशनरी प्रदान गरिएको पहाडीको भनाइ छ ।
पहाडीका अनुसार पोशाक तथा स्टेशनरीका सामग्री प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले छात्रछात्रालाई हस्तान्तरण गर्नुभएको हो । जिल्लामा डेढ वर्ष अघिदेखि अष्ट्रेलियन रेडक्रसको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुँदै आएको छ ।