जेष्ठ–११, खोटाङ र उदयपुरको सिमामा पर्ने सुनकोसीको फोक्सिङटारमा बेलिब्रिज राख्नकालागि सडक बिभागलाई आग्रह गर्ने तयारी गरिएको छ । जिल्लाका दक्षिणी गाबिसलाई तराईसँग जोड्ने भएकाले फोक्सिङटारमा बेलिब्रिज राख्नका लागि प्रशासनको पहलमा बिभागलाई आग्रह गर्ने तयारी गरिएको हो ।
फोक्सिङटारबाट खोटाङ र उदयपुरतर्फको सडक बनीसकेकाले बेलिब्रिज राख्नका लागि बिभागलाई गुहार्ने तयारी गरिएको खोटाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । फोक्सिङटारमा बेलिब्रिज राख्ने तयारीका लागि शनिबार जिल्ला प्रशासन कार्यालयले बोलाएको सर्वदलीय बैठकले बेलिब्रिज राख्नका लागि बिभागलाई सिफारिस पठाउने निर्णय गरेको छ ।
फोक्सिङटारमा बेलिब्रिज राख्न सकिए खोटाङबाट सिधा उदयपुरको गाईघाटसम्म यातायात सेवा सञ्चालनमा आउने छ । खोटाङको महुरेबाट फोक्सिङटारको वारीसम्म र फोक्सिङटार पारीबाट गाईघाटसम्मको सडक बनीसकेकाले बेलिब्रिज सञ्चालनमा ल्याउन अनिवार्य बनेको सापकोटाको भनाइ छ ।
पुलको अभावमा जोडिन नसकेको दिक्तेल–गाईघाट सडकलाई जोड्नकालागि बेलिब्रिजको माग गरिएको प्रशासनले जनाएको छ ।