जेष्ठ–११, कालोपत्रे गर्न लागिएको खोटाङको दिक्तेल–हलेसी सडक खण्ड आसपासका जग्गा धनीलाई मुआब्जा दिने तयारी गरिएको छ । एसियाली विकास बैंक (एडिबि)को आर्थिक सहयोगमा दिक्तेल–हलेसी सडक खण्डलाई कालोपत्रे गर्ने प्रकृया थालिएसँगै सडक आसपासका जग्गा धनीलाई मुआव्जा दिने तयारी गरिएको हो ।
मुआब्जा वितरणको तयारीका लागि जिल्ला प्रशासन कार्यालयको संयोजनमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सडकले मिचेका जग्गाको तत्काल मूल्य निर्धाण गर्ने र मुआब्जा बितरण शुरु गर्ने निर्णय गरेको छ । जिल्लाका नेता, उद्योगी, व्यवसायी, बुद्धिजिवी, पत्रकार सम्मिलित बैठकमा जग्गाको मूल्या निर्धाण गर्ने र मुआब्जा बितरणका काम थाल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो ।
एसियाली विकास बैंक (एडिबि)को आर्थिक सहयोगमा दिक्तेल–हलेसी ३६ किलोमिटर सडकलाई साँढे पाँच मिटर फराकिलो बनाएर कालोपत्रे गर्ने तयारी गरिएको छ । मुआब्जा बितरणका काम शुरु गरेपछि मात्र एडिबीले कालोपत्रेका कामको ठेक्का स्विकृत गर्ने र काम शुरु गर्ने भएकाले मुआव्जा बितरणमा हतारो गर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाइ छ । एडिबीले जग्गा धनीलाई सरकाले मुआब्जा नदिएसम्म कालोपत्रेका काम शुरु नगर्ने बताउँदै आएको छ ।
मुआब्जा वितरण गर्नुअघि मुआब्जा निर्धारण समितिले सडक आसपासका जग्गाको स्थलगत अवलोकन गर्ने र समितिले निर्धारण गरेको मूल्यको आधारमा मुआब्जा प्रदान गरिने प्रशासनले जनाएको छ । सडक बिभागका ईन्जिनियर बिष्णु काफ्लेका अनुसार हलेसी र दिक्तेलकोबीचका नौं गाविसका नौं सय ७८ घर परिवारलाई मुआब्जा दिने तयारी गरिएको छ ।