जेष्ठ–१३, पठन–पाठनमा अनियमितता गरेको भन्दै ३६ शिक्षकलाई स्पष्टीकरण सोधेको जिल्ला शिक्षा कार्यालय खोटाङले थप चार शिक्षकलाई स्पष्टिकरण सोधेको छ । विद्यालयमा अनियमितता गरेको भन्दै पहिलो चरणमा जिल्लाका ३६ शिक्षकलाई स्पष्टीकरण सोधेको शिक्षाले दोश्रो चरणमा कुहुडाँडा मावि फेदीका शिक्षक अमरकुमार साह, सरस्वति मावि पाथेकाका शिक्षक धर्मनाथ यादव, सरस्वति मावि पाथेकाकै शिक्षक बृखबहादुर राई र गौरी पञ्चकन्या निमावि फेदीका शिक्षक खड्गमणी राईलाई स्पष्टीकरण सोधेको हो । 
लामो समयसम्म विद्यालयमा अनुपस्थित रहने गरेको सुचनाका आधारमा थप चार शिक्षकलाई लिखित स्पष्टीकरण सोधिएको जिल्ला शिक्षा कार्यालय खोटाङका निमित्त जिल्ला शिक्षा अधिकारी मीनकुमार थापाले बताउनुभयो । उनीहरुलाई विद्यालयमा लामो समयसम्म अनुपस्थित रहनुको कारण सहित चित्त बुझ्दो जवाफ पठाउन भनिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
चित्त बुझ्दो जवाफ नदिने शिक्षकलाई शिक्षा ऐन अनुशार कारबाहीको प्रकृया अघि बढाइने शिक्षाले बताएको छ । यससँगै स्पष्टीकरणमा परेका शिक्षकको संख्या ४० पुगेको छ । लामो समयसम्म विद्यालय नजाने १९ जना, मादक पदार्थ सेवन गर्ने र विद्यालय नजाने १२ जना तथा मादक पदार्थ सेवन गरेर विद्यालय जाने पाँच शिक्षक÷शिक्षीकालाई गत बैसाख–२६ गते लिखित स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणपछि तीन शिक्षकले सेवाबाट र एक जना प्रधानाध्यपकले पदबाट राजीनामा दिएका छन् ।