जेष्ठ–२२, पिछडिएका समुदायबाट पत्रकार उत्पादन गर्ने उद्देश्यले खोटाङमा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । एआईपिपिको सहयोग तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजनामा तीन दिने तालिम शुरु भएको हो ।
सदरमुकाम दिक्तेलस्थित ब्लुसम होटलमा शुरु भएको तालिममा पूर्वी पहाडि जिल्ला खोटाङ, सोलुखुम्बु, उदयपुर, भोजपुर र ओखलढुङ्गाका २२ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । फोनिजका केन्द्रीय महासचिव गजुरधन राई, कोषाध्यक्ष टेकराज थामी, पूर्वाञ्चल क्षेत्रीय संयोजक शाहीमान राई, जिल्ला शाखा खोटाङका सल्लाहकार डम्बरसिं राई, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका सल्लाहकार उजुर राई लगायतले सहजीकरण गरिरहनुभएको छ । 
विभिन्न कारणले पछाडी परेका आदिवासी जनजाति पत्रकारहरुको क्षमता विकास गर्दै पत्रकार उत्पादन गर्नका लागि आयोजना गरिएको तालिममा आदिवासी जनजाति पत्रकारहरुले उठाउनुपर्ने विषयवस्तु, चुनौती, विद्यूतीय तथा छापा माध्यमका पत्रकारहरुले खेल्नुपर्ने भूमिका लगायतको विषयमा जानकारी दिने काम भइरहिएको छ । बिहीबार भएको तालिममा गजुरधन राईले टेलीभिजन पत्रकारिता, टेकराज थामीले समाचारको प्रकृति, शाहीमान राईले पत्रकारको भूमिका, डम्बरसिं राईले छापा माध्यमको पत्रकारिता, उजुर राईले समाचार निर्माणमा स्थानीय विषय वस्तु र रामधन राईले रेडियो अन्तरवार्तका बारेमा जानकारी गराउनुभएको थियो । 
जिल्ला विकास समितिको सभाहलमा उद्घाटन गरिएको तालिम फोनिजका जिल्ला अध्यक्ष केदार मगरको सभापतित्व तथा केन्द्रीय महासचिव गजुरधन राईको प्रमुख आतिथ्य एवं प्रमुख जिल्ला अधिकारी गोबिन्द सोपकोटाको विशेष आतिथ्यमा भएको हो । बिहान सात बजे उद्घाटन गरिएको तालिममा आदिवासी जनजाति महासंघ खोटाङका महासचिव पृथी जिम्बा, स्थानीय विकास अधिकारी युवराज अधिकारी, प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साह, जातीय संघ संस्थाका प्रमुख, पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।