जेष्ठ–२८, खोटाङको हौंचुर गाविस जिल्लाकै पहिलो साक्षर गाविस घोषणा भएको छ । ९५ प्रतिशत निरक्षर सर्वसाधारण साक्षर भएपछि हौंचुर गाविसलाई बुधबार साक्षर गाविस घोषणा गरिएको हो ।
गाविसका ५२५ निरक्षर जनसंख्या मध्ये ४८२ सर्वसाधारण साक्षर बनेपछि हौंचुर गाविसलाई साक्षर गाविस घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ । शारदा मावि हौंचुरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले गाविसलाई एकैसाथ साक्षर एवं खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुभएको हो ।
तीन हजार दुई सय जनसंख्या रहेको हौंचुरका निरक्षर सर्वसाधारणले साँवा अक्षर पढ्न र लेख्न सक्ने बनेपछि साक्षर गाविस घोषणा गरिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मीनबहादुर थापाले बतानुभयो । २०६७ सालदेखि सञ्चालन गरिएको साक्षर अभियान नेपाल अन्तरगत गाबिसका निरक्षर नागरिक एकदेखि सय अंक लेख्न र भन्न, आम्दानी र खर्चको विवरण राख्न, बैंक भौचर भर्न, मोवाइल चलाउन र क्यालकुलेटर चलाउन, सभासमारोहमा गएर बोल्न सक्ने बनेपछि साक्षर गाबिस घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय खोटाङका जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाइँले जानकारी दिनुभयो ।
हौंचुरमा जिल्ला शिक्षा कार्यालयको मातहतमा सामुदायिक अध्ययन केन्द्रले साक्षरता अभियान सञ्चालन गरेको थियो । गाविस निरक्षरमुक्त बनेको प्रतिबेदन प्राप्त भएपछि अनुगमन गरेर साक्षर गाविस घोषणा गरिएको शाखा अधिकृत थापाको भनाइ छ । साक्षरता अभियानकाक्रममा साँवा अक्षर लेख्न र पढ्न सक्षम बनेको हौंचुर–२ का हर्कबहादुर परियारले बताउनुभयो ।
जिल्लाका माक्पा, दुबेकोल, रतन्छा, दिप्सुङ लगायतका गाविसबाट पनि निरक्षरमुक्त बनेको जानकारी आएको शिक्षा कार्यालयले जनाएको छ ।
यसैबीच, हौंचुर गाविस जिल्लाको आठौं खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । गाविसका पाँच सय दश घर परिवारमा वाटरशिल चर्पी निर्माण र प्रयोगमा आएपछि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
दुई सय ५५ वटा वाटरसिल, एक सय ८० वटा सुरक्षित कच्ची र ७२ वटा खाल्डे चर्पी निर्माण भएपछि गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको गाविस सचिव भेषराज खत्रीले जानकारी दिनुभयो । दुई वर्षको अभियानपछि गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको सामाजिक परिचालक शशीकला राईको भनाइ छ ।
साक्षर एवं खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रशासन, जिल्ला विकास समिति, सुरक्षा प्रमुख, संघसंस्था, सर्वसाधारण, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।