जेष्ठ–३०, वर्षा शुरु भएसँगै दिक्तेल–हलेसी सडक खण्ड अन्तरगत दिक्तेलदेखि वात्तलसम्मको सडक अवरुद्ध भएको छ । हालसम्म कच्ची रहेको उक्त सकड वर्षाले हिलाम्मे र खाल्डाखुल्डी बनाएपछि सदरमुकाम दिक्तेलदेखि वात्तलसम्मको सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध बनेपछि यात्रु तथा मालबाहक सवारी साधन यताको यतै र उताको उतै रोकिएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने यस सडक सदरमुकाम दिक्तेलदेखि तराई तथा राजधानीसम्म जोडिएको एक मात्र सडक हो । सडक अवरुद्ध भएपछि दिक्तेल आउदा र बाहिर जाँदा दुई घण्टा पैदल हिड्नुपर्ने अवस्था सृजना भएको छ । समयमै सम्बन्धित निकायले चासो नदिँदा यस्तो अवस्था आएको उपभोक्ताहरुको भनाइ छ ।
अवरुद्ध सडक जसरी पनि सञ्चालनमा ल्याउने प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभएको छ । जिल्लाबासीको आवत–जावत गर्ने एक मात्र रुट भएकाले पनि उक्त सञ्चालनमा ल्याउनुपर्नेमा उहाँको जोड छ । उक्त सडक कालोपत्रेका लागि प्रक्रिया अघि बढे पनि भौतिक निर्माणका काम भने, शुरु भएको छैन । सडक आसपासका जग्गा धनीलाई मुआब्जा दिने लगायतका काम मात्र शुरु भएको छ ।