असार–२, जिल्लाका एक सञ्चारकर्मी युवतीमाथि हातपात गर्ने नेपाली सेनाका एक जवान कारागार चलान भएका छन् । स्थानीय एक सञ्चारकर्मी युवतीमाथि हातपात गर्ने जबर जङ्ग गण मुडे ब्यारेकका जवान उपेन्द्र बस्नेत कारागार चलान भएका हुन् ।

उनलाई एक वर्ष जेल सजाय, आगामी दिनमा कुनै पनि सरकारी सेवामा अयोग्य र उनले पाउने सेवासुविधाबाट वञ्चित गराइएको सेनाका अदालतले फैसला सुनाएको छ । सोलुखुम्बु जिल्लाको काँगेल–८ घर भएका उनले सञ्चारकर्मी युवतीमाथि हातपात गरेपछि जिल्लास्थित नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, सञ्चारकर्मी युवती कार्यरत सञ्चारमाध्यम पेशागत संघसंगठन लगायतले कारबाहीको माग गर्दै बिरोध जनाएका थिए । 
दिनभर काम गरेर घर फर्कनेक्रममा गत चैत्र–२१ गते दिक्तेल–६ स्थित थामखोरेस्थित बाटोमा पर्ने जङ्गलमा उनले सञ्चारकर्मी युवतीमाथि हातपात गरेका थिए । घटना लगत्तै प्रहरीमा खबर गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहको नेतृत्वमा खटिएका टोलीले नियन्त्रणमा लिएको थियो । 
प्रहरी नियन्त्रणमा परेका उनलाई सोही राती सेनालाई जिम्मा लगाइएको थियो । घटनामा संलग्न रहेको देखिएपछि सेनाको हिरासतमा राखेर थप अनुसन्धान गरेर उनलाई कारागार चलान गरिएको जबर जङ्ग गण मुडे ब्यारेकका गणपति रामबहादुर थापाले बताउनुभयो । 
जिल्लामा सञ्चारकर्मी युवतीमाथि सुरक्षा निकायकै व्यक्तिबाट हातपात भएपछि महिला सञ्चारकर्मीहरु आतंकित भएका थिए ।