असार–७, खोटाङमा यातायात सञ्चालनका क्रममा दुई यातायात व्यवसायी संघबीच बढेको द्वन्द्व टुंगिएको छ । बीच बाटोमा ‘मेलिङ’ गर्दै खोटाङ–तराईको यातायात सेवा सञ्चालन सुरु गरेको खोटाङ बस व्यवसायी संघ र मध्य पहाडी यातायात सेवा समितिबीच बढेको द्वन्द्व सहमतीमा टुंगिएको हो । 
जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको द्धिपक्षीय बैठकले ‘डायलिङ’ सिस्टमबाट यातायात सेवा सञ्चालन गर्ने सहमतीमा बिवाद समाधान गरिएको खोटाङ यातायात व्यवसायी संघका महासचिव राजकुमार राईले बताउनुभयो । वर्षाको अवधिभर सदरमुकाम दिक्तेलमा साझा काउण्टरमार्फत पालो बाँडेर यातायात सेवा सञ्चालन गर्ने सहमती भएको महासचिव राईले बताउनुभयो । 
बैठकमा हिउँद लागेपछि भने दुई यातायात सेवा समितिबीच प्रतिष्पर्धात्मक वा ‘डायलिङ’ सिस्टमबाट गाडी चलाउनकालागि अर्को निर्णय गर्ने सहमती भएको छ । मध्यपहाडी यातायात सेवा समिति खोटाङका पुर्वइन्चार्ज रुद्रकुमार राईले भने ‘डायलिङ’ सिस्टमबाट यातायात सेवा सञ्चालन गरिए पनि काउण्टर भने फरक–फरक हुने बताउनुभयो । 
दुधकोसी र सुनकोसीको बेलिब्रिज हटाइएपछि ‘मेलिङ’ गर्दै खोटाङदेखि काठ्माडौं सम्मको यातायात सेवा सञ्चालनकाक्रममा खोटाङ बस व्यवसायी संघ र मध्य पहाडीबीच बिवाद भएको हो । बिवादपछि मध्य पहाडीका प्रतिनिधिले बिहिबार राती खोटाङ बस व्यवसायी संघका प्रतिनिधिमाथि आक्रमण गरेको थियो ।
गत जेठ–१६ गते जयराममा ‘मेल’ सेवा मार्फत यातायात सेवा सञ्चालन गर्ने सहमती गरेको तीन दिनपछि नै मध्यपहाडीले सहमती भंग गरेकाले बिवाद आएको खोटाङ यातायात व्यवसायी संघको आरोप छ । मध्यपहाडी यातायात समितिका रत्न कट्टेलले भने दिक्तेलबाट जयरामसम्मको यात्रु ओसार्ने सहमती गरेको खोटाङ यातायात व्यवसायी संघले ‘मेल’ दिन छाडेपछि विवाद भएको बताउनुभयो । 
उनीहरुबीच यात्रुलाई खोटाङ यातायात व्यवसायी संघले दिक्तेलबाट जयराम र मध्यपहाडीले जयरामबाट घुर्मी हुँदै काठ्माडौं पु¥याउने सहमती भएको थियो । ‘मेल’ पाउन छाडेको भन्दै बुधबार मध्यपहाडीले धरान, भोजपुर हुँदै दिक्तेलमा पाँच वटा बस दिक्तेल ल्याएको छ ।