बाँझे च्यानडाँडास्थित सेखुवामा हुर्केर सुकेका कफीको बिरुवा |
मनोज बुढाथोकी
खोटाङ ९ असार । बजार नपाउँदा खोटाङका एक कफी नर्सरी खेती संकटमा परेको छ । उत्पादित कफीको बिरुवाले उचित बजार नपाएपछि बाँझेच्यानडाँडा–१ सेखुवास्थित सैसुला कफी नर्सरी खेती संकटमा परेको हो ।
बजार मूल्या नपाएपछि कृषि नर्सरीमा उत्पादन हुने कफीको बिरुवा सुकेर खेर गइरहेको नर्सरी सञ्चालक चन्द्रकुमार राईले बताउनुभयो । साउदीअरबमा तीन वर्ष काम गरेर फर्किएका राईले २०६७ सालमा सुरु गरेको कफी नर्सरीमा उत्पादन हुने अधिकांश कफीको बिरुवा हाल हुर्केर खेर गइरहेको छ । यस वर्ष कृषि नर्सरीमा उत्पादन भएको ४० हजार भन्दा बढि कफीको बिरुवा हुर्केर सुकेर खेर गएको सञ्चालक राईले बताए ।
स्थापनाकालमा प्रतिबोट २५ रुपैयाँका दरले बिक्री हुँदैआएको कफीको बिरुवा हाल १० देखि १५ रुपैयाँमा पनि बिक्री हुन छाडेको छ । कफीको बिरुवा बिक्री गरेरै मासिक २५ हजारसम्म कमाइ गरेका राईले पछिल्ला दिनमा मासिक चार–पाँच हजार पनि आम्दानी हुन छाडेको बताउनुभयो । स्थानीयका अनुशार प्रायः पकेट क्षेत्र मानिएका सबैजसो गाउँमा कफीको बिरुवा पुगीसकेको र धेरथोर गाउँ–गाउँमै उत्पादन हुन थालेकाले राईको कफी नर्सरीको बिरुवाले बजार पाउन छाडेको हो ।
राईले काठमाण्डौंबाट कृषि प्राबिधिक ल्याएर माटो चेकजाँच गराएर राजधानीबाटै कफीको बिउ ल्याएर एक लाख ५० हजारको लगानीमा गाउँमै कफीको नर्सरी खेती सुरु गर्नुभएको हो । प्लाष्टिकको टनेलभित्र ३० रोपनी जग्गामा करिब ३० हजार कफीको बिरुवा लगाएर सुरु गरिएको कफीको नर्सरी बिक्री गरेर सुरुका दिनमा राम्रो आम्दानी गर्दैआएका राईले पछिल्ला दिनमा सोचेजस्तो आम्दानी हुन छाडेको बताए ।
कृषि नर्सरीमा उत्पादन भएका कफीको बिरुवा जिल्ला बाहेक भोजपुरका केही गाबिसमा खपत हुने गरेको छ । बाँदरले कफीको दाना खाइदिने गरेका कारण पनि बिरुवा उत्पादनमा समस्या आएको उहाँले बताए ।