खोटाङ, १० असार । झड्केली छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत खोटाङले १८ वर्षको जेल सजाय सुनाएको छ ।
चौध वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका बाक्सिला–७ का ४० वर्षीय कर्णबहादुर बस्नेतलाई जिल्ला अदालतले १८ वर्षको कैद सजाय सुनाएको हो ।
छोरीलाई बलात्कार गरेको आरोपमा गत फागुन–२ गते पक्राउ परेका बस्नेतलाई जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले जबर्जस्ती महलअन्तर्गत आठ वर्ष र हाडनाता करणी महलअन्तर्गत १० वर्षको कैद सजायको फैसला गरेको हो ।सोलुखुम्बुको सोताङमा रहेको मावली घरमा बस्दै आएकी छोरीलाई घर आएको बेला बस्नेतले माघ २९ गते राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनाको तीन दिनपछि दोषीका विरुद्ध प्रहरीमा पीडितको उजुरी परेको थियो । हाडनाता र जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइएका बस्नेतलाई जिल्ला अदालतको आदेशमा फागुन २७ गते पुर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेलमा थुनामा पठाइएको थियो ।