असार–१४, व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको बजार मुल्य वृद्धि गरेको सर्वत्र गुनासो आएपछि जिल्लामा सञ्चालित होटल तथा पसलहरु अनुगमन गरिएको छ । तराईसँगको सिधा यातायात सेवा अवरुद्ध भएको बहानामा व्यापारीहरुले उपभोग्य वस्तुको मुल्य बढाएपछि अनुगमन गरिएको हो । 
सदरमुकाम दिक्तेलस्थित हाटडाँडादेखि भवनगैरासम्मका होटल तथा पसल अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘बजार मुल्य वृद्धि भएकै पाइयो, यो पहिलो चरणको अनुगमन भएकाले सुझाव मात्र दिइयो ।’ उहाँले थप्नुभयो,–‘यदि सुझाव नमानेको खण्डमा पुनः अनुगमन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइने छ ।’
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईको नेतृत्वमा कोलेनिका, घरेलु, खाद्य संस्थान, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी लगायतका प्रतिनिधिको संयुक्त टोलीले शुक्रबार बजार अनुगमन गरेको हो । केही दिन अघिसम्म एक हजार छ सय ५० रुपैयाँमा पाइने ३० केजीको अन्दाज चामलको मुल्य उपभोक्ताले एक्कासी बढाएर एक हजार आठ सय पु¥याएको उपभोक्ताले गुनासो गरेका थिए । 
यस्तै, एक हजार आठ सयमा पाइने खाना पकाउने ग्याँस दुई हजार दुई सय, एक सय १५ मा पाइने मुसुरो दाल एक सय ५०, ७० देखि ७५ रुपैयाँमा पाइने आधा लिटरको एक प्याकेट तोरीको तेल ८० रुपैयाँ, एक केजी चिनीको मुल्य बढाएर ८० रुपैयाँमा बिक्री गर्न थालेपछि आफूहरु ठगीमा परेको उपभोक्ताहरुले गुनासो गरेका थिए । व्यापारीहरुले अन्दाधुन्द उपभोग्य वस्तुको मुल्य वृद्धि गरेको सर्वत्र गुनासो आएपछि उद्योग वाणिज्य संघले तत्काल व्यापारीहरुको भेला राखेर बजार मुल्य समेत निर्धाण गरेको छ । 
वाणिज्य संघले गरेको मुल्य निर्धारण समेत वैज्ञानिक नभएको गुनासो आएको छ । यसमा बजार मुल्य अनुसार व्यपारीहरु आफैले निर्धारण गरेर बिक्री गर्न सक्ने वाणिज्य संघले जनाएको छ ।