असार–१६, खोटाङमा हलेसी प्रोडक्टस् एण्ड एग्रीकल्चर फार्म स्थापनाको पहल थालिएको छ । जिल्लाका साना उद्यमीहरुले उत्पादन गरेका सामानको बजार ग्यारेन्टी गर्नका लागि उद्योग वाणिज्य संघ र नेपाल हब्र्स तथा हर्वल उत्पादन संघको संयुक्त पहलमा फार्म स्थापना सुरु गरिएको हो ।
प्राविधिक शिप र प्रविधि भित्र्याउँदै निर्यातजन्य बस्तुको प्रशोधन, गुणस्तर वृद्धि, प्याकेजिङ, बजार व्यवस्थापन गर्नका लागि फार्म स्थापनाको अवधारणा अघि सारिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण शैंजूले बताउनुभयो । खोटाङ उद्योग वाणिज्य संघ, बहुसरोकारवाला बन कार्यक्रम र नवयुवा फुलपाती सेवा समाज पाथेकाको संयुक्त आयोजनामा आइतबार भएको ‘वन उद्यम विकास सम्भावना’ विषयक अन्तरक्रीय गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।
चिराइतो, लोक्ता, सिस्नु, बाँस, धसिंग्रे, अम्रिसो लगायतका बस्तु निर्यात गर्न सकिने जिल्लामा पहिलोपल्ट एग्रीकल्चर फार्म स्थापनाको पहल थालिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ, बहुसरोकारवाला वन कार्यक्रम र नेपाल हब्र्स तथा हर्वल उत्पादन संघका प्रतिनिधिकातर्फबाट छुट्टाछुट्टै प्रतिबेदन प्रस्तुत गरिएको थियो । समिक्षालय हलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका उद्यमी, कृषक, वन तथा कृषिसँग सम्बन्धित व्यक्तीहरुको सहभागीता रहेको थियो ।