असार–१६, खोटाङमा पनि विभिन्न कार्यक्रम गर्दै एघारौं धान दिवस मनाइएको छ । किसानलाई आधुनिक ढंगबाट धानखेती गर्न आव्हान गर्दै आइतवार दिवस मनाइएको हो ।
धान खाद्य सुरक्षाको लागि वरदान भएकाले “धानखेतीमा आधुनिकीकरण, खाद्यन्न आयातमा न्यूनिकरण” भन्ने नारासहित जिल्ला कृषि कार्यालय खोटाङको आयोजनामा दिक्तेल नगरपालिका–१५ खाल्लेका किसान मोतिप्रसाद खतिवडाको खेतमा पुगेर सामुहिक रुपमा रोपाई गर्दै धान दिवश मनाइएको हो । स्थानीय विकास अधिकारी युवराज अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईलगायत जिल्लाका कार्यालय प्रमुखहरु, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, सञ्चारकर्मीको टोली धान दिवश मनाउनका लागि खाल्ले पुग्नुभएको थियो ।
खाल्लेमा हल गोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर एकआपसमा रमाउंदै रोपाहार र बाउसेहरु एकआर्कामा हिलो छ्यापाछ्याप गदै दिवश मनाइएको छ । रोपाई गरेर थाकेको अवस्थामा दही, चिउरा, केरा र अचारको परिकार खुवाएपछि स्थानीय विकास अधिकारी युवराज अधिकारीले रोपाई कार्यक्रमको समापन गर्नुभएको थियो । सदरमुकाम दिक्तेलदेखि कार्यक्रम स्थलसम्म विभिन्न नारासहितको प्लेकार्ड बोकेको ¥याली निकालिएको थियो ।
यसैबीच, दिक्तेलमा पनि सामुहिकरुपमा दही चिउरा खाँदै धान दिवस मनाइएको छ । बिश्वहिन्दु महासंघ खोटाङको आयोजनामा सामुहिकरुपमा दही र चिउरा खाँदै धान दिवस मनाइएको हो । जिविसको समिक्षालय हलमा आयोजित दही चिउरा समारोहमा दिक्तेल नगरपालिकाभित्रका किसान, बुद्धिजिवी, सर्वसाधारण, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधि, पत्रकार लगायत दुई सयभन्दा बढिको सहभागीता रहेको थियो ।
संस्कृतिको संरक्षण गर्दै कृषि प्रबर्धनकालागि असार पन्ध्रको अवशरमा दहीचिउरा समारोहको आयोजना गरिएको महासंघले जनाएको छ । असार पन्ध्रका दिन रोपाईलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउदै धान रोप्ने गरिन्छ । खोटाङमा भने केही बर्ष अघिदेखि मात्र धान दिवस मनाउन थालिएको हो ।