असार–१९, खोटाङमा आयोजना गरिएको जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा सरस्वति उच्च मावि दिक्तेलकी छात्रा पुष्पा गजमेर पहिलो हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको प्रतियोगितामा १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै गजमेर पहिलो हुनुभएको हो । 
‘सुरक्षित समाज निर्माणमा सरोकारवालाहरुको भूमिका’ विषयक निबन्ध लेखन प्रतियोगितामा माउण्ट एभरेष्ट ईग्लिस बोर्डिङ स्कूल दिक्तेलकी छात्रा एलिसा ढकाल दोश्रो र यसोद ढकाल तेश्रो हुनुभएको छ भने, चम्पावती उच्च मावि विजयखर्कका छात्र मोहन पोखरेल सान्त्वना हुनुभएको छ । प्रतियोगितामा क्रमशः पहिलो, दोश्रो, तेश्रो र सान्त्वना हुने छात्राछात्रलाई नगद तीन हजार, दुई हजार, एक हजार र पाँच सय रुपैयाँको साथमा प्रमाण–पत्र प्रदान गरिएको छ ।
प्रहरीले राष्ट्रिय कार्यक्रम अनुसार खोटाङमा पनि निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको प्रहरीले जनाएको छ । विद्यार्थीले प्रहरी प्रशासनलाई हेर्ने दृष्टिकोण र सामाजिक रुपान्तरणमा प्रहरीले निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा जानकारी लिने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले जानकारी दिनुभयो ।  
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक गोबिन्द सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले समाजमा हुने गरेका अराजक गतिविधि न्युनिकरणका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।