असार–१९, खोटाङमा हतियार तथा बिष्फोटक पदार्थसहित पक्राउ परेका खम्बुवान राष्ट्रिय मोर्चाका पूर्व केन्द्रीय सदस्यलाई अदालतले तीन महिना कैंद र एक हजार जरिवाना सुनाएको छ । जिल्लाको उत्तरी गाविस बाक्सिला–४ बाट हतियार तथा भारी मात्रामा बिष्फोटक पदार्थ सहित पक्राउ परेका मोर्चाका पूर्व केन्द्रीय सदस्य विश्वास साम्पाङ खम्बू भनेर चिनिने बीरधन राईलाई जिल्ला अदालत खोटाङले तीन महिना कैंद र एक हजार जरिवाना गर्ने फैसला सुनाएको हो । 
जिल्लाको उत्तरी क्षेत्रका राखा, दिप्सुङ, सुङ्देल, माक्पा लगायतका गाविसमा कार्यरत शिक्षकहरुबाट अवैध चन्दा असुलेको आरोपमा २०६९ असोज ५ गते पक्राउ परेका खम्बुलाई जिल्ला अदालतले चन्दा ऐन २०३० को दफा १३ बमोजिम सो फैसला सुनाएको जनाएको अदालतका नायव सुब्बा चरेन्द्रप्रसाद आचार्यले बताउनुभयो । अदालतले मागेको २० हजार धरौटी बुझाउन नसक्दा खम्बू २०६९ असोज २६ गतेदेखि पुर्पक्षका लागि जिल्ला कारागार खोटाङमा छन् । 
अराजक गतिविधिमा संलग्न रहेको थाहा पाएपछि मोर्चाबाट निष्काशित खम्वुले सर्वसाधारणबाट अवैध रुपमा १५ हजार सात सय रुपैयाँ चन्दा असुलेको ठहर भएकाले सो रकम असुल उपर गर्नुपर्ने समेत फैसला गरेको अदालतले जनाएको छ  । हाल कारागारमा थुनिएका खम्वूमाथि जिल्लाका शिक्षक तथा व्यापारीहरूबाट जबरजस्ती चन्दा अशुलेको आरोप छ । हातहतियार तथा खरखजना ऐन २०१९ अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत खम्बूविरुद्ध चलीरहेको मुद्दा विचाराधिन अवस्थामा छ । 
पार्टीबाट सम्पर्क बिहिन बनेर चन्दा अशुलीमा संलग्न भएपछि मोर्चाले केन्द्रीय सदस्य रहेका खम्बूलाई साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेको थियो । ईलाका प्रहरी कार्यालय बाक्सिलालाई आक्रमण गर्ने र राष्ट्रिय जनक्रान्ति पार्टी घोषणा गर्ने योजना बनाएको आरोप लगाइएका खम्बूलाई क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको बिशेष शाखाका तत्कालिन प्रमुख एवम् प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहाल नेतृत्वको विशेष टोलीले पक्राउ गरेको थियो । 
चन्दा असुलेकै आरोपमा मुद्दा चलाइएका मोर्चाका कार्यकर्ता बिचारी गिरीलाई भने अदालतले असार १७ गते सफाइ दिएको छ । उनीमाथि पनि मुद्दा चलाइएको थियो ।