असार–२०, डाकाको आक्रमणमा परी खोटाङमा एक महिलाको ज्यान गएको छ । बिहीबार बेलुका माइतीघर जानेक्रममा डाकाले आक्रमण गर्दा विजयखर्क–३ की ४४ वर्षीया नर्मदा ढकालको ज्यान गएको हो ।

बिरामी बुबा भेट्न राजापानी–४ स्थित माइतीघर जानेक्रममा राजापानीको कामीकाटे भन्ने ठाउँमा डाकाले आक्रमण गर्दा उहाँको ज्यान गएको मृत नर्मदाकी ज्वाइँ हरिबोल आचार्यले बताउनुभयो । आचार्यका अनुसार बेलुकी चार बजेतिर घरबाट हिडेकी नर्मदा राती दश बजे मृत भेटिएकी हुन् ।

जङ्गलको बाटो हुँदै माइतीघर हिडेकी नर्मदाले लगाएको गरगहना लुटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । उहाँका अनुसार मृत नर्मदाको घाँटीमा साडीले बाँधेर हत्या गरिएको छ ।

बाटोमा अघिपछि हुँदै हिँड्ने नचिनिएका दुई युवाले नर्मदाले लगाएको गरगहनाका साथै नगद लुटेर हत्या गरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । मृत नर्मदाले कानमा लगाएको रिङ, गलामा लगाएको सिक्री र हातमा लगाएको औंठी गरी तीन तोला सुन तथा नगद लुटेर विभत्स हत्या गरेको पाइएको छ ।

आफन्तका अनुसार घरबाट सबेरै हिडेकी नर्मदा माइतीघर नपुगेपछि खोजतलास गर्दा दुई युवासँगै हिडिरहेको देखेको स्थानीयले बताएका छन् । बेलुका अबेरसम्म नर्मदा माइतीघर नपुगेपछि खोजतलास गर्दा ती दुई युवा अताल्लिँदै कुदिरेहेका स्थानीयको भनाइ छ ।

यसबारे अनुसन्धान गर्न जिल्लाका विभिन्न नाकामा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक साहले बताउनुभयो । उहाँले भन्नुभयो,–‘जिल्लाका सबै नाकामा प्रहरी परिचालन गरिएकाले घटनाका दोषी चाँडै पत्ता लाग्नेछ ।’