असार–२२, पे्रमीकाले धोका दिएपछि खोटाङका एक युवाले प्रेमीकालाई दिएको रकम फिर्ता लिएका छन् । प्रेमीकाबाट धोका पाएपछि हाल मलेसियामा काम गर्दै आएका नुनथला–८ का सुबोद राईले विभिन्न समयमा प्रेमीकालाई पठाइदिएको रकम फिर्ता लिएका हुन् । 
२०७० साल असार–३१ गतेका दिन ‘सँगै मर्ने र सँगै बाँच्ने’ कसम खाएर वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका राईले प्रेम गरेको अवधिमा प्रेमीकालाई पठाएको ५६ हजार दुई सय ५० रुपैयाँ प्रहरीको सहयोगमा फिर्ता लिएका हुन् । विभिन्न बहानामा पैसा लिएकी प्रेमीकाले धोका दिएर अर्कैसँग विवाह गरेपछि प्रहरीको सहयोगमा रकम फिर्ता लिइएको राईले टेलीफोनमार्फत जानकारी दिनुभयो । 
विदेशबाट फर्किएपछि विवाह गर्ने शर्तमा मलेसियाबाट मासिक रुपमा खर्च पठाइदिने दिएपनि अर्कैसँग विवाह गरेपछि आफूले पठाएको रकम फिर्ता लिएको राईको भनाइ छ । राईका अनुसार उनीहरुबीच तीन वर्ष अघिदेखि प्रेम सम्वन्ध रहेको पाइएको छ ।  बिना कारण झुटो आरोप लगाउँदै प्रेमीकाले गएको जेठ तेश्रो साता अर्कै केटासँग विवाह गरेकाले प्रेमीले रकम अशुल गराइदिन भन्दै प्रहरी समक्ष इमेलमार्फत उजुरी दिएको प्रहरीले जनाएको छ । राईले विभिन्न समयमा प्रेमीकालाई पैसा पठाउनका लागि आईएमई गरेको १४ वटा बीलसहित प्रहरी समक्ष रकम फिर्ताका लागि उजुरी दिएका थिए । 
प्रहरीमा उजुरी दिएर फोनबाट बारम्बार ताकेता गरेपछि पूर्वप्रेमीकाले राईका साथी राजन भट्टराईमार्फत रकम फिर्ता दिएकी हुन् । प्रेमीकाले विवाह गर्नुअघि फेसबुक र फोनबाट अपशब्द बोल्ने र सम्झाउँदा उल्टै तर्किएको व्यवहार देखाएको राईको भनाइ छ ।