असार–२३, खोटाङमा महिला तथा बालअधिकार हनन्का घटना दिनानुदिन बढ्दै गएको पाइएको छ । गत चैत्र १८ देखि असार १७ गतेको अवधिमा जिल्लामा ४४ वटा मानव अधिकार हनन्का घटना घटेकामा सबैभन्दा बढि महिला तथा बालबालिका सम्वन्धी घटना घटेको पाइएको छ ।
जिल्लाको मानव अधिकारको अवस्थाबारे एक तथ्यांक सार्वजनिक गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक खोटाङले तीन महिना यता ३६ वटा महिला र ७ वटा बालअधिकार हनन्का घटना घटेको जनाएको छ । इन्सेकका खोटाङका प्रतिनिधि डिएम चाम्लिङले तीन महिनाको अवधिमा जिल्लाका ४ महिला बलात्कृत भएको, ३ महिलामाथि बलात्कारको प्रयास भएको, ११ महिलामाथि सौता लगाइएको, ९ महिलामाथि घरेलुहिंसा गरिएको तथ्यांक सार्वजनिक गर्नुभयो ।
यस्तै, ४ बालिका बलात्कृत भएको, ३ वटाको बालबिवाह भएको, २ बालबालिकाको अधिकार हनन् भएको चाम्लिङले जानकारी दिनुभयो । जिल्लामा हत्या सम्वन्धी ३ वटा, धम्की तथा कुटपिट सम्वन्धी ३ वटा, आर्थिक तथा सामाजिक अधिकार सम्वन्धी २ वटा, दुव्र्यबहार सम्वन्धी ४ वटा घटना घटेको इन्सेकले जनाएको छ ।
मानव अधिकार हनन्का घट्नाहरु नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन गरिने इन्सेक प्रतिनिधि चाम्लीङले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले बहुबिवाह तथा घरेलुहिंसा सम्वन्धी घटनाहरुलाई मिलापत्रमै टुंग्याउने गरिएको बताएका छन् । कार्यक्रमका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले महिला र बालवालिकामाथि हुने हिंसा अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले स्वएम् पीडित महिला मुद्दा दिन नआउँदा महिला हिंसाका घटना बढिरहेको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालयका निमित्त प्रमुख लोकनाथ घिमिरेले जिल्लामा बढ्दो अपराधिक क्रियाकलाप नियन्त्रणका लागि राज्यका निकाय गम्भिर हुनुपर्ने सुझाव दिनुभयो ।