असार–२५, पेस्तोल सहित पक्राउ परेका खोटाङका एक लुटेराको समुहलाई प्रहरीले सार्वजनिक गरेको छ । हतियार देखाएर रतन्छा–३ पिनालाखाका मनसेर भनिने हरिजङ्ग राईको सुन र नगद लुटेको आरोपमा पक्राउ परेका दिक्तेल नगरपालिका–६ का २७ वर्षीय सुवर्ण राई, दिक्तेल नगरपालिका–९ का १८ वर्षीय युवक राई र रतन्छा–३ का १८ वर्षीय दिपेन्द्र राईलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
मुखमा कालो पट्टी बाँधेर गएको ५÷७ जनाको सो समुहले गत असार–१७ गते राती राईको सुनको सिक्री लुटेको पहिचान भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । पक्राउ परेका उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल, सोको दुई थान गोली, लुटिएको सुनको सिक्री र नगद तीन हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक साहले जानकारी दिनुभयो ।
लुटपाटपछि फरार रहेका उनीहरुको खोजी गर्नेक्रममा फरक–फरक ठाउँमा पक्राउ परेका उनीहरुबाट पेस्तोल, लुटिएको सुन र पैसा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका उनीहरुले राईको दुई तोला सुन र ५० हजार नगद लुटेर लगेको स्वीकारेका छन् ।
घटनामा संलग्न अन्य दुई जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई चाँडै पक्राउ गरिने प्रहरी नायव उपरीक्षक साहले बताउनुभयो । घटनाका मुख्य योजनाकार रहेका सुवर्णले हरेक घटनामा फरक–फरक व्यक्तिलाई प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानले खुलाएको छ ।