रामधन राई/खोटाङ,
असार–२६, कृषि बिज्ञ तथा समाजसेवी खोटाङका मदन राईले पत्रकारिता पुरस्कारको लागि अक्षयकोष स्थापना गर्न रकम प्रदान गर्नुभएको छ ।  
किरात राई पत्रकार संघले स्थापना गरेको ‘किरात राई पत्रकार संघर्षशील पत्रकारिता पुरस्कार’ को लागि कृषि विशेषज्ञ तथा समाजसेवी  राईले अक्षयकोष निर्माणका लागि एक लाख रुपैया प्रदान गर्नुभएको हो । 
नेपालको कृषि तथा विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको राईले बुधबार काठमाण्डौमा संघको केन्द्रीय कार्य समितिलाई अक्षयकोष स्थापनाको लागि चेक हस्तान्तरण गर्नुभएको संघका केन्द्रीय अध्यक्ष राजेश चाम्लिङ राईले जानकारी दिनुभयो  । चेक हस्तान्तरण गर्दै कृषिविज्ञ राईले समाजिक सेवाका लागि काम गर्ने आफ्नो चाहना अनुरुप संघलाई अक्षयकोषको लागि रकम प्रदान गरेको बताउनुभयो । 
उहाँले कोषको स्थापनाले पत्रकारिताबाट समुदायको विकासको लागि योगदान गर्ने किराती राई पत्रकारहरुलाई विशेष हौसला प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । पुरस्कार स्थापनाका लागि अक्षयकोष रकम प्रदान गर्नुहुने राईलाई धन्यवाद प्रदान गर्दै यसले पत्रकारिता क्षेत्रमा क्रियाशिल किराती राई पत्रकारहरुको प्रतिभा र हौसला बृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष चाम्लिङले बताउनुभयो । 
संघका संस्थापक अध्यक्ष गणेश राईले दुई चार वर्ष दुःख गरेर भए पनि देशमै केहि गर्नेभन्दा वैदेशिक रोजगारीका लागि विदेशिने मनोविज्ञान बढिरहेको बेला सिमित स्रोतको भरमा पत्रकारिता गर्ने व्यक्तिहरुको लागि पुरस्कार पेशामा टिकिरहने माध्यम बन्न सक्ने बताउनुभएको थियो । अक्षयकोषबाट प्राप्तहुने बार्षिक ब्याजबाट प्रत्येक वर्ष एक जना किराती राई समुदायलाई पुरस्कृत गरिने बताईएको छ ।