असार–२६, लाँफेहोंछा परिवार खोटाङले कांग्रेसका लफ्याङ गाउँ समितिका सभापति लोकेन्द्र राईमाथि निर्घात कुटपिट गर्ने दोषीमाथि कडा कारबाहीको माग गरेको छ । 
खोटाङ कांग्रेसका जिल्ला सभापति नेतृत्वको समुहबाट गाउँ सभापति राईमाथि निर्घात कुटिएको घटनाप्रति दुखः व्यक्त गर्दै लाँफेहोंछा परिवारले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको हो । 
सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गर्दै लाँफेहोंछा परिवारका सचिव अनुप राईले पार्टीका नेतृत्वबाट आफ्नै पार्टीको कार्यकर्तामाथि घृणित र लज्जास्पद तवरले घटना घटाइएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘लाँफेहोंछा परिवारप्रतिको यो आक्रमण कुनैपनि बाहनामा क्षमायोग्य छैन, राजनैतिक आडमा प्रशासनले दोषीलाई संरक्षण गर्ने छैन भन्ने आशा लिएका छौँ ।’
घाइते राईकी श्रीमती सशिकला राई र भाइ भिषण राईसहित आएको लाँफेहोंछा परिवारले सदरमुकाममै एउटा राजनैतिक कार्यकर्ता असुरक्षित हुने अवस्था आउनुले आफुहरुलाई स्तब्ध बनाएको जनाएको छ । कांग्रेस क्षेत्र नम्बर २ को अधिवेशनको अघिल्लो दिन गत शनिबार राती गाउँ सभापति एवम् लाँफेहोंछा परिवारका सदस्यमाथि निर्घात कुटपिट भएको थियो । 
राईलाई कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईकै संलग्नतामा पूर्व जिल्ला सदस्य रमेश खड्का, तरुण दलका जिल्ला उपाध्यक्ष भलकाजी गुरुङ र कार्यकर्ता सुमन गुरुङले निर्घात कुटपिट गरेको परिवारले बताएको छ । कुटपिटबाट राईको टाउको, आँखा र ढाडमा चोट लागेको छ । 
प्रहरीले कुटपिटको विरुद्ध किटानी जाहेरी लिन समेत आलटाल गरिरहेको राईकी श्रीमती सशिकला राईले गुनासो गर्नुभयो । सभापतिको दवावका कारण प्रहरीले मुद्दा दर्ता गर्न नमानेको सचिव राईको भनाइ छ । प्रहरीको अस्वीकारपछि र मुद्दा दर्ता नै नगरी फर्कनु परेको भिषण राईले बताउनुभयो ।