असार–२७, बच्चा जन्मिनासाथ मारेर फाल्ने खोटाङकी एक महिला पक्राउ परेकी छन् । परपुरुषसँगको यौन सम्पर्कबाट जन्मिएको बच्चा मारेर फाल्ने याम्खा–५ की २८ वर्षीया उमिता परियार पक्राउ परेकी हुन् ।
शुक्रबार बिहान बच्चा जन्मिनासाथ मारेर मकैबारीमा फालेको स्थानीयले जानकारी दिएपछि आफूहरुले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहले बताउनुभयो । उहाँले भन्नुभयो,–‘परियारले बच्चा जन्मिनासाथ मारेर प्लाष्टिकमा पोका पारेर फालेकी रहेछिन् ।’
प्रहरीका अनुसार पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखिएको छ । परपुरुषसँगको यौन सम्पर्कबाट गर्भमा आएको बच्चा जन्मिएपछि उनले मारेर फालेको खुल्न आएको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो ।  
उनको श्रीमान डेढ वर्ष अघिदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको स्थानीय राजु मुग्रातीले जानकारी दिनुभयो । मुग्रातीका अनुसार उनीहरुको दुई छोरी छन् ।