असार–२८, आगामी चैत्र मसान्तभित्र खोटाङ जिल्लालाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा गरिनेभएको छ ।
दिक्तेलमा भएको सरसफाइ सम्बन्धी दुई दिने सम्मेलन समापनको अवसरमा सन् २०१६ सम्ममा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने यस अघिको घोषणालाई एक वर्षअघि नै पूरा गर्ने निर्णय गरेको हो ।
जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने र पूर्ण सरसफाइयुक्त बनाउन सामाजिक आन्दोलन गर्ने संकल्पका साथ सम्पन्न सम्मेलनले ‘खुला ठाउँमा दिसा गर्ने कार्यलाई सामाजिक अपराध तथा दण्डनीय कार्य मानिने’ भएको छ । जिल्ला विकास समितिको समीक्षालय हलमा शुक्रबार साँझ सम्पन्न सम्मेलनले पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन १८ बुदे खोटाङ घोषणा–पत्र जारी गरेको छ ।
खुला ठाउँमा दिसापिसाब गर्ने कार्यलाई निरुत्साहित गर्ने, चर्पी निर्माणका लागि अनुदान लिने–दिने परिपाटीलाई अन्त्य गर्दै आफै चर्पी बनाउने, लोकमार्ग तथा अन्य सार्वजनिक स्थानमा युरिनल र साबुन पानीले हातधुने व्यवस्था सहितको चर्पीको निर्माण गर्ने, हरेक निकायहरुबाट सरसफाइ अभियानका लागि वार्षिकरुपमा बजेट छुट्याउने, कार्यालय आएका सेवाग्राहीलाई घरमा चर्पी भए नभएको यकिन गर्दै चर्पी निर्माणका लागि प्रोत्साहित गरिने भएको छ । सम्मेलनले आगामी दिनमा जिल्लाका खुला ठाउँमा दिसा नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता जुटाएको छ ।
जिल्लास्थित सबै कार्यालयको लेटरप्याडमा सरसफाइ सम्बन्धी नारा र सन्देशमूलक सूचना राख्ने, हरेक कार्यालयबाट सेवा प्राप्त गर्नका लागि चर्पी र साक्षरतालाई आधारभूत योग्यताको मापदण्डका रुपमा लिने, जिल्लाका मुख्य नाका, सडक, बजार तथा सार्वजनिक स्थलहरुमा ‘दिसा पिसाब गर्नु सार्वजनिक अपराध हो’ भन्ने सन्देशमुलक सूचनाहरु टाँस गर्ने लगायतका प्रतिवद्धता जुटाएको छ । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको आयोजनामा भएको सम्मेलनमा राजनैतिक दल, सरकारी कार्यालय, गैससकर्मी, पत्रकार, गाविस सचिव, सामाजिक परिचालक गरी तीन सय ५० भन्दा बढिको सहभागिता रहेको थियो ।
एक नगरपालिका र ७२ गाविस रहेको खोटाङ जिल्लाको आठ गाविसलाई खुला दिसामुक्त घोषणा गरिसकिएको छ । समितिका सदस्य सचिव तथा जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख देवेन्द्रकुमार झाका अनुसार जिल्लाका ४२ हजार छ सय ४७ घर परिवारमध्ये २७ हजार भन्दा बढी घरमा चर्पी निर्माण भइसकेको छ ।
क्षेत्रीय निर्देशक प्रताप शर्मा पौडेलले उद्घाटन गर्नुभएको सम्मेलन सरसफाइ सम्मेलन समापनको अवसरमा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न योगदान पु¥याउने २५ जना सम्मानित भएका छन् ।