असार–२८, गुरु पूर्णीमाको अवसरमा खोटाङका दुई खेल प्रशिक्षक सम्मानित भएका छन् । जिल्लामा कराँते खेलको बिकासमा महत्वपूर्ण योगदान दिएकामा प्रशिक्षकद्वय बिचारी तामाङ र गोपाल राई सम्मानित भएका हुन् ।
नेपाल सितेरियो कराँते संघ तथा नेपाल सितेरियो कराँते ब्ल्याकबेल्ट खोटाङले गुरु पुर्णिमाको अवशरमा शनिबार प्रशिक्षक तामाङ र राईलाई सम्मान गरेको हो । उनीहरुलाई कालो टोपी र खादा ओढाए सम्मान गरिएको छ ।
सितेरियो कराँते संघ तथा सितेरियो कराँते ब्ल्याकबेल्टले स्थानीय बिकास अधिकारी युवराज अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईलाई पनि सम्मान गरेको छ । कराँतेको बिकासकालागि योगदान पु¥याएकामा प्रशिक्षकहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको नेपाल सितेरियो कराँते संघ खोटाङका अध्यक्ष सञ्जय राईल बताउनुभयो । कार्यक्रमका अवशरमा सितेरियो कराँतेका २७ प्रशिक्षार्थीलाई स्तरोन्नतीको प्रमाणपत्र प्रदान गरिएको छ । ह्वाइट बेल्टबाट ओरेन्ज बेल्टमा उक्लिएका २० जना, ग्रीन बेल्टबाट स्टेप थर्ड ब्राउन तहमा उक्लिएका चार जना तथा स्टेप ब्राउन फस्टबाट पूर्ण ब्राउन तहमा उक्लिएका तीन जनालाई प्रमाण पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिकारुपमा स्थानीय बिकास अधिकारी युवराज अधिकारी, नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष दमन राई, सितोरियो कराँते सगरमाथा अञ्चल संयोजक तथा प्रशिक्षक बिचारी तामाङ, खेल निर्णयक सागर राई, पुर्व खेलाडी नूरकाजी शैंजू, प्राचार्य राजनशेर राई, खेलप्रेमी राजकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रम नेपाल सितेरियो कराँते संघका जिल्ला उपाध्यक्ष मिलन कसजुको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि अधिकारीले एकीकृतरुपमा योजना माग्न आए जिल्ला विकास समितिको तर्फबाट सहयोग गर्ने बताउनुभएको छ । यस्तै, प्रशिक्षक तामाङले राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ठ हुने जिल्लाका खेलाडीलाई जनही नगद पाँच हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गर्नुभएको छ ।