साउन ७ ।  प्रहरी चौकी आक्रमण, चन्दा असुली तथा चन्दा आतंक लगायत अपराधमा संलग्न किरात जनवादी वर्कर्स पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पक्राउ परेका छन् । जिल्लाका फरक–फरक चारवटा प्रहरी चौकी आक्रमण तथा हतियार लुटपाट गरी फरार एवम् चन्दा असुली र आतंक मच्चाउने वर्कर्सका सैन्य सह–ईन्चार्ज समेत परिवर्तंन भनिने ३३ वर्षीय मणिन्द्र राई पक्राउ परेका हुन् ।

प्रहरीको मस्टवान्टेडमा रहेका राई मंगलबार हलेसीबाट पक्राउ परेको क्षेत्रीय प्रहरी कार्यालय बराटनगर रानी विशेष शाखाका प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले बताउनुुभयो । उहाँका अनुसार पक्राउ परेका राईको साथबाट पार्टीको दस्ताभेज, सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल हलचोकबाट सशस्त्र प्रहरी जवानको आधारभूत तालिम लिएको नक्कली प्रमाण–पत्र, सेनामुख हतियार तालिमको प्रमाण–पत्र, विभिन्न सरकारी कार्यालयको छाप लगायत बरामद गरिएको छ ।

दिक्तेल नगरपालिका–४ घर भएका राईका विरुद्ध हातहतियार खरखजना, डाका, चन्दा आतंक, लुटपाट लगायतका मुद्दा छ । पक्राउ परेका राईको नेतृत्वमा विभिन्न समयमा देविस्थान, हुक्काजोर, चिसापानी र नुनथला प्रहरी चौकी लुटपात भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्राउ परेका राईले उक्त घटनाका बारेमा स्वीकार गरीसकेका छन् ।’

राईको समूहले २०६७ साल बैशाख–२१ गते नुनथला प्रहरी चौकी आक्रमणगरी पाँच थान राईफल, सोको गोली, सञ्चार सेट, पेस्तोल लगायत लुटपाट गरेका थिए । उनीहरुले लुटपाट गरेका सामाग्री विभिन्न ठाउँबाट प्रहरीले बरामद गरेका थिए ।
यस्तै, दक्षिणी क्षेत्रमा पर्ने बडकादियाले, सावाकटहरे, काहुले, ईन्द्रणीपोखरी लगायत गाविसको कार्यालयका कागजात जलाउनुका साथै काहुलेस्थित नेपाल टेलिकमको टावर आगजनी, जिल्ला अदालत खोटाङ परिसरमा प्रेसरकुकर राखेर आतंक मच्याएका थिए ।
उनले खोटाङबाहेक छिमेकी जिल्ला सोलुखुम्बु, उदयपुर, भोजपुर, धरान, इलाम लगायत पूर्वी क्षेत्रमा आतंक मच्याएका थिए । उनी लगायत अन्य सात जनालाई जिल्ला अदालतले पक्राउ परेको दिनदेखि सात वर्षको कैद सजाय सुनाएको थियो ।