खोटाङ, ८ साउन । जिल्लाका तीन सामुदायिक संस्था सम्मानित भएका छन् । जिल्लाका क्रियाशील सामुदायिक संस्थाहरूमध्ये वर्षभरिमा उत्कृष्ट क्रियाकलाप सञ्चालन गर्ने डम्बरखुसिवाल–१ स्थित तिल्केनी सामुदायिक संस्था, ऐँसेलुखर्क–९ स्थित लालीगुराँस सामुदायिक संस्था र डिकुवा–३ स्थित हिउँज्योति सामुदायिक संस्था सम्मानित भएका हुन् ।

भौतिक पूर्वाधार कार्यक्रमतर्फ तिल्केनी सामुदायिक संस्था, आयआर्जनतर्फ लालीगुराँस सामुदायिक संस्था र खानेपानी तथा सरसफाइतर्फ हिउँज्योति सामुदायिक संस्था सम्मानित भएका हुन् ।

सम्मानित सामुदायिक संस्थालाई बुधबार सदरमुकाम दिक्तेलमा आयोजित गरिबी न्यूनीकरण कार्यक्रमको वार्षिक समीक्षात्मक कार्यक्रमका अवसरमा सम्मान गरिएको आयोजकले जनाएको छ ।

सम्मानित सामुदायिक संस्थाका अध्यक्षहरूलाई प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष दीपनारायण रिजाल र हिमाली क्लबका अध्यक्ष नारायणप्रसाद जोशीले खादा ओढाएर प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।

गरिबी निवारण कोषको आर्थिक सहयोगमा जनसेवा समाज नेपाल, नवीकरण सेवा समाज, बाल सेवा समाज, सगरमाथा तरुण जनजागृति क्लब, हलेसी विकास मञ्च र हिमाली क्लबले खोटाङका ३२ गाविसमा गरिबी न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

कार्यक्रममा विभिन्न छ वटा गैरसरकारी संस्थाले वर्षभरि सञ्चालन गरेको गरिबी न्यूनीकरणसम्बन्धी कार्यक्रमका विषयमा जानकारी दिएका थिए । रासस