साउन–१४, बहुलाहा स्यालको टोकाइबाट खोटाङमा पाँच जना घाइते भएका छन् । बुहुलाएर जथाभावी हिँडीरहेको स्यालको टोकाइबाट दोर्पाचिउरीडाँडा–५ का ७८ वर्षीय थरप्रसाद खनाल, २७ वर्षीया शुसिला खनाल, २१ वर्षीया रञ्जु खनाल, २७ वर्षीया सुनिता खनाल र दोर्पाचिउरीडाँडा–१ का १३ वर्षीय सन्देश राई घाइते भएका हुन् ।
घाइतेमध्ये गम्भिर बिरामी बनेका थरप्रसाद, शुसिला र सन्देशलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको स्थानीय भोजराज खानालले बताउनुभयो । उहाँका अनुसार अन्य बिरामी आफै हिँडेर अस्पताल गए पनि थरप्रसादलाई स्ट्रेचरमा बोकेर अस्पताल ल्याइएको छ ।
स्थानीयका अनुसार थरप्रसाद, शुसिला, रञ्जु र सुनितालाई रोपाइँका लागि खेततर्फ जाँदैगरेको अवस्थामा स्यालले टोकेको हो भने, सन्देशलाई सदरमुकाम दिक्तेल जाँदै गरेको अवस्थामा बाटोमा टोकेको बताइएको छ । बहुला स्यालले सुशिलाको अनुहार र तिघ्रामा, थरप्रसादको दाहिने खुट्टा र सुनिताको घुँडामा टोकेको छ ।
गाउँका मान्छेलाई टोक्दै हिँडेको बहुलाहा स्याललाई त्त्कालै स्थानीयले मारेका छन् । जे पायो त्यही टोक्दै हिडेको स्याललाई आफूलाई टोक्न आएकोबेला स्थानीय विक्रम विश्वकर्माले हातमा बोकेको फ्याउरीेले हिर्काएर मारेका हुन् ।
बहुलाएको स्यालको टोकाइबाट एकैसाथ पाँच जना घायते बनेपछि स्थानीय सिर्जनसिल इंग्लिस बोर्डिङ स्कुल दुई दिनका लागि बन्द गरिएको छ । गाउँमा बहुला स्यालको त्रास फैलिएका कारण विद्यालय बन्द गरिएको स्थानीयको भनाइ छ । घटनाको विषयमा कार्यालयमा जानकारी आए लगत्तै टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।