साउन–१४, विषादी सेवनबाट खोटाङमा एक महिलाको ज्यान गएको छ भने, एक सिकिस्त बिरामी भएकी छन् । धितुङ–४ की ५० वर्षीया दिलकुमारी विश्वकर्माको ज्यान गएको हो भने, दिक्तेल नगरपालिका–१४ की २९ वर्षीया सीता कटवाल सिकिस्त बिरामी भएकी हुन् । 
विश्वकर्माले घरमा कोही नभएको मौकामा मंगलबार विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सात जनाको परिवार रहेको विश्वकर्माले घरायसी विवादका कारण विष सेवनगरी आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । विषादी सेवनबाटै सिकिस्त बिरामी बनेकी सीताको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । बेहोस अवस्थामा रहेकी उनको अवस्था नाजुक हुँदै गएको अस्पताल श्रोतले जनाएको छ । 
बुधबार बिहान घरैमा विषादी सेवन गरेकी सीताको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र लैजाने तयारी गरिएको पारिवारिक श्रोतले बताएको छ । उनले पनि घरायसी विवादका कारण नै विषादी सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । 
जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमका अनुसार विषादी सेवन गरेर आत्महत्या गर्नेमा अधिकांश महिला रहेका छन् ।