साउन–१४, जिल्लाका राजनीतिक दलहरुले थुनुवाको मृत्यु प्रकरणमा संलग्न डिएसपी सहित एघार प्रहरी बिरुद्ध कारबाहीका लागि राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयनको माग गरेका छन् । जिल्लाका सबै दलले हिरासतमा रहेको अवस्थामा प्रहरीको यातनाबाट ज्यान गुमाएका पाथेका–२ का १८ वर्षीय ‘भुदेउ’ भनिने किरण राईको हत्यामा संलग्न तत्कालीन प्रहरी नायव उपरीक्षक राजिव बस्नेत, प्रहरी निरीक्षक रमेशकुमार देव सहित एघार प्रहरीलाई आयोगले कारबाही गर्न सिफारिस गर्दा समेत कारबाहीको प्रक्रिया अगाडि नबढेको भन्दै तत्काल कानूनी दायरामा ल्याउन माग गरेका हुन् । 
जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, संघीय समाजवादी, खम्बुवान राष्ट्रिय मोर्चा, नेकपा–माओवादी र नेपाल कम्यूनिष्ट पार्टीले बुधबार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा ज्ञापनपत्र बुझाउँदै आयोगको सिफारिस कार्यन्वयनको माग गरेका हुन् । दोषी प्रहरीहरुलाई कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समक्ष आयोगले गरेको सिफारिस वर्ष दिनसम्म पनि कार्यान्वयन नभएपछि पुनः आयोगकै ध्यानाकर्षण गराउनुपरेको एकीकृत नेकपा माओवादी खोटाङका कोषाध्यक्ष सुरेश राईले बताउनुभयो ।
ज्यान मारेको अभियोगमा गत २०७० साल जेठ–२८ गते पक्राउ परेपछि हिरासतमा राखिएको अवस्थामा भुदेउको गत २०७० साल असार–२६ गते ज्यान गएको थियो । आयोगले ‘मल्टीपल ब्लनफोर्स इन्जुरी इन लोअर लिम्बस्’ का कारण भुदेउको ज्यान गएको प्रतिबेदन सार्वजनिक गरेको थियो । 
थुनुवा राईको मृत्यपछि मानव अधिकार आयोगले घटनामा संलग्न प्रहरी नायव निरीक्षकद्धय महेन्द्र खत्री र मुकुन्दप्रसाद बिडारी, प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरु नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी, नारायण खड्कालाई मुलुकी ऐन ज्यान सम्बन्धिको महल बमोजिम कारवाही गर्न तथा तत्कालीन प्रहरी नायव उपरीक्षक बस्नेत र प्रहरी निरीक्षक देवलाई विभागीय कारवाही गर्न २०७० भदौ–१९ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सिफारिस गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोगले त्यसैबेला पीडित परिवारलाई आयोगको ऐन २०६८ को दफा १६ को ३ बमोजिम तीनलाख क्षतिपूर्ती उपलब्ध गराउन समेत सिफारिस गरेको थियो । 
आयोगको उक्त सिफारिस हालसम्म कार्यान्वयन नभएको मृतकका आफन्त रञ्जिप राईले गुनासो गर्नुभएको छ । राजनीतिक दलहरुको मागका विषयमा आयोगको केन्द्रीय कार्यालय समक्ष जानकारी पठाइसकिएको उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले बताउनुभयो । 
प्रहरी नाउव उपरीक्षक सहित एघार प्रहरी बिरुद्ध २०७० पुस–३० गते दिइएको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको भन्दै मृतकका बुबा बुद्धिबहादुर राईले गत सोमबार मात्र आयोगको उपक्षेत्रीय कार्यालय समक्ष निबेदन दिनुभएको थियो । मृतकको पोष्टमार्टम रिपोर्ट तथा मानव अधिकार आयोगको छानविन टोलीको प्रतिवेदनले यातनाका कारण भुदेउको मृत्यु भएको पुष्टि गरिसके पनि घटनामा संलग्न प्रहरी अधिकृत तथा जवानहरुलाई कारवाही नभएको मृतक परिवाको भनाइ छ । 
आफन्तले राईको मृत्युलाई शंकास्पद मानेपछि जिल्ला बाहिरका चिकित्सक ल्याएर मानव अधिकारकर्मीको रोहबरमा चार दिनपछि शवको पोष्टमार्टम गरिएको थियो । भुदेउ प्रहरीको हिरासतबाट भाग्दै गरेको अवस्थामा बुइपाबाट पक्राउ परेका थिए । बुइपाबाट पक्राउ गरेर ल्याउनेक्रममा प्रहरीले राईलाई शारीरिक यातना दिएको, कारागार लैजानेक्रममा पनि यातना दिँदै लगेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।