साउन–२०, स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि खोटाङको दिक्तेल बहुमुखी क्याम्पसलाई पाँच वटा श्रोत केन्द्रका विद्यालयले आर्थिक सहयोग गरेको छ । यस शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको क्याम्पसलाई रकम अभाव भएपछि बिजयखर्क, दिक्तेल, दोर्पाचिउरीडाँडा, मात्तिम र रतन्छा श्रोत केन्द्रभित्र पर्ने उच्च मावि, मावि, निमावि र प्राविले आर्थिक सहयोग गरेको हो । 
स्नातकोत्तर तह सञ्चालनका लागि आर्थिक श्रोत जुटाउन घरदैलो अभियान थालेको क्याम्पसलाई उच्च मावि र माविले पाँच÷पाँच हजार, निमाविले चार हजार र प्राविले तीन हजारका दरले आर्थिक सहयोग गरेको क्याम्पस प्रमुख डा. सुकराज राईले जानकारी दिनुभयो । २०३७ सालमा स्थापना भएको क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनका लागि पाँच श्रोत केन्द्रका उच्च मावि, मावि, निमावि र प्राविका प्राचार्य, प्रधानाध्यपक र व्यवस्थापन समितिले आर्थिक सहयोगका लागि उत्साह देखाएको हो । 
स्नातकोत्तर कक्षाका लागि आवश्यक पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकको व्यवस्था, स्नातकोत्तर कक्षाका लागि विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा निर्माणाधिन भवन पूरा गर्न तथा फर्नीचरको व्यवस्थापनका लागि आर्थिक संकलनका काम थालिएको क्याम्पस प्रमुख डा. राईले बताउनुभयो । स्नातकोत्तर कक्षा सञ्चालनका लागि आवश्यक रकम जुटाउन क्याम्पसले गत मंगलबारदेखि घरदैलो अभियान थालेको हो ।
क्याम्पसका प्राध्यापक धनकर्ण श्रेष्ठको संयोजकत्वको समितिले नगरबासी, व्यवसायी र उद्योगीबाट साँढे तीन लाख रकम संकलन गरिसकेको क्याम्पसले जनाएको छ । क्याम्पसले २० लाख बढि आर्थिक संकलन गर्ने लक्ष्य लिएको छ । दशैं र तिहारकोबेला क्याम्पसको मुखपत्र ‘नयाँ कदम’मा सबै दाताहरुको बिज्ञापन प्रकाशन गरिदिने शर्तमा आर्थिक संकलन अभियान चलाइएको क्याम्पस प्रमुख डा. राईको भनाइ छ । क्याम्पसले आफ्नै जिल्लामा स्नातकोत्तर सञ्चालनका लागि हातेमालो गर्न सबैमा आग्रह गरेको छ । 
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा जिल्लामै पहिलोपल्ट मानविकी संकायतर्फ नेपाली विषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरेको क्याम्पसले आवश्यक आर्थिक श्रोत जुटाउनका लागि नयाँ शैली अपनाएको हो । दिक्तेल क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सुरु भएपछि नेपाली विषय लिएर बिए तथा बिएड उत्तिर्ण गरेका जिल्ला विद्यार्थी लाभान्वित भएका छन् ।