
साउन–२५ । पाँच भाइ छोरा एक्कै साथ बिरामी परेका थिए । उहाँलाई थाहा थिएन के भएर बिरामी भयो । एक्कै साथ बिरामी परेका छोराहरुलाई टुलुटुलु हेर्न बाहेक कुनै विकल्प थिएन उहाँको । सम्पत्तीको नाममा १२ आना जग्गा, त्यो पनि बन्दकी, एउटा चुहिने घर ।
खोटाङको दिक्तेल–९ सोल्मा (हाल दिक्तेल नगरपालिका–६) का धुस्मन भनिने आइतबहादुर र प्रेमकुमारी राई परिवारको समस्या हो यो । जुन समयमा टाईफाइडका कारण पाँच भाइ छोराहरु ओछ्यानमा छट्पटिरहँदा अस्पताल जाने खर्च समेत थिएन उनीहरुको साथमा । खर्च नभएका कारण ओछ्यानमा छटपट्टी रहेका छोराहरुलाई हेरिरहन बाहेक अन्य विकल्प थिएन राई परिवारको । टाईफाइडले एकैसाथ बिरामी परेका छोराहरुमध्ये साईलो छोरा जीवनलाई गरिबीका कारण अस्पताल पु¥याउन नपाउँदै गुमाउनु प¥यो । अस्पताल जाने खर्च खोज्दा–खोज्दै २०६९ असार–१३ गते करिब ११ वर्षको उमेरमा जीवनलाई बाटैमा गुमाएका हुन् । पैसाको नाममा फुटेको कौडी समेत नभएका धुस्मन र प्रेमकुमारी राई परिवारमा आइपरेको यो बिपत्तीमा साथ दिन कोही तयार भएनन् त्यो बेला ।
साईलो छोरो गुमाएर अन्या चार बिरामी छोराहरु हेर्दै भगवानको प्रार्थना गरिरहेका राई परिवारलई अन्य छोराहरु बचाउमा दिलबहादुरको अगुवाइमा आर्थिक संकलन अभियान शुरु भयो । राईको नेतृत्वमा संकलन भएको पाँच हजार आठ सय थापेर राई दम्पतीले चार छोराहरु नवराज, रोशन, दिवन र दीपेशलाई जिल्ला अस्पताल खोटाङ पु¥याए । तर, थप उपचारका लागि राई परिवारलाई आर्थिक समस्या भने उस्तै रह्यो ।
‘डेढ सय रुपैयाँ सापट नपाउँदा राईले साईलो छोरा गुमाएको, अन्य चार छोराको उपचारकालागि आर्थिक अभाव भएको’ विषयमा स्थानीय तथा राष्ट्रिय छापा तथा विद्युतीय सञ्चारमाध्यममा समाचार प्रकाशन प्रशारण भयो । जिल्लामा सबैको ध्यान यसै घटनातर्फ तानिएको थियो । समाचार प्रकाशन÷प्रशारण भएकै दिनबाट राईको लागि जिल्ला र जिल्ला बाहिरबाट सहयोगी हातहरु जुट्न थाल्यो । समाचारको प्रभावका कारण राई परिवारको सहयोगका लागि तीन लाख ५० हजारबन्दा बढि समाचार प्रशारण÷प्रकाशन भएको भोलीपल्टै संकलन भयो ।
अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशन भएको समाचारका कारण जिल्ला भित्र र बाहिरका सहयोगीबाट संकलन भएको एक लाख पाँच हजार रकम २०६९ असार २१ गतेका दिन राई परिवारलाई हस्तान्तरण गरियो । यस्तै, कान्तिपुर दैनिकमा छापिएको समाचारका कारण हङकङ बस्दै आएका खोटाङबासीको पहलमा एक लाख एकख सय ११ रुपैयाँ साउन २२ गते प्राप्त भयो । उक्त रकम हस्तान्तरण गर्नेक्रममा जिल्लाका सञ्चारमाध्यबाट खबर पाउने नेता, कर्मचारी, व्यवसायीबाट पनि उत्तिकै मात्रामा आर्थिक सहयोग प्राप्त भयो ।
अन्नपूर्णमा प्रकाशित समाचार पढेपछि उसबेला जिल्लाबासी बाहेक काठमाडौंका श्यामकिरण श्रेष्ठ, सोलुखम्बुका ग्याल्जेन शेर्पा र कांग्रेस दोलखाका पुर्व सांसद जीपछिरिङ लामाले समेत राई परिवारलाई दश÷दश हजार सहयोग रकम पठाएका थिए । कतिसम्म भने सुरुमा नाम खुलाउन नचाहेको श्यामकिरणले ‘नाम नबताए आर्थिक सहयोग लिन्नौं’ भनेपछि मात्र पत्रकारलाई परिचय खुलाउनुभएको थियो । जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको सो रकम हस्तान्तरण कार्यक्रममा राप्रपा नेपाल खोटाङका अध्यक्ष जीवनकुमार श्रेष्ठले पाँच सय रुपैयाँ दिएपछि क्रमशः उपस्थित सबै नेता, गैससकर्मी, कर्मचारीबाट सहयोग रकम जुटेको थियो ।
छोराहरुको उपचारका लागि दया स्वरुप प्राप्त भएको आर्थिक सहयोगले राईले चार छोराहरु बचाए, भएभरका ऋण तिरे र जग्गा किनेर नयाँ तीन तले घर समेत बनाउन सफल भएका छन् । बा¥है महिना अरुको घरमा बनी गरेर आउने पैसाले परिवार धान्दै आएका राई परिवार छोराहरुको उपचार गरेर बचेको रकमले घर निर्माण गर्नुका साथै ऋण मुक्त बन्यो । ऋण लिएको कम्तीमा छ वर्षदेखि ११ वर्ष नाघिसकेका चतुरमान राई, पगरमान राई, सर्वजीत राई लगायतको ऋण पत्रकारहरुकै रोहबरमा तिरेर तमसुक च्यात्ने काम भयो । त्येसबेला चतुरमानको २० हजार, पगरमानको चार हजार ऋण तिरिएको थियो ।
पत्रकारहरुको आग्रहमा कतिपय साहुले आइतबहादुरका लागि ऋणको ब्याज मिनाहा गरिदिए भने, कतिपयले ऋण समेत मिनाहाको घोषणा गरेर सहयोग गरेका थिए । उपचारको नाममा जुटेको रकमले फेरिएको नयाँ घर संसारमा अहिले सुख दुःखका साथ जीवन बिताइरहेका छन् । हुनपनि बाबु गजुरमानले सबै जग्गा जमिन सिध्याएकाले आइतबहादुरसँग ओत लाग्ने एउटा जीर्ण र चुहिने घरबाहेक बाँकी केही थिएन ।
तरकारी लगाउने एक चपरी जग्गा समेत थिएन । आर्थिक कमजोरीकै कारण उनले अन्य जग्गा जोड्न पनि सकेनन् । प्रेमकुमारीले भन्नुभयो, ‘तपाइहरुको सहयोगले हाम्रो छोराहरु बच्यो, हामी ऋण मुक्त भयौँ, उपचार खर्च गरेर बचेको पैसाले घर पनि बनायौं, हाम्रो लागि नयाँ जीवन दिनुभएको छ ।’
सबैको सहयोगबाट बचेका चार बालकमध्ये राई दम्पत्तीको जेठो छोरो नवराजले यस वर्षको एसएलसीमा बिहिबार गणित विषयको मौका परीक्षा दिएका छन् भने, माइला रोशन गाउँकै हिमालय निमावि कक्षा–८, काइला दिवन कक्षा–३ मा र कान्छा दिपेश कक्षा–१ मा अध्ययनरत छन् ।