साउन–२९, घरले किचेर खोटाङमा एक महिला गम्भिर घाइते हुनुभएको छ । जिल्लाको उत्तरी गाविस जालपा–४ बस्ने ४५ वर्षीया असारी विश्वकर्मा गम्भिर घाइते हुनुभएको हो ।
बेहोस अवस्थामा रहनुभएको विश्वकर्माको दुबै खुट्टा भाँचिनुका साथै टाउको र शरीरको विभिन्न भागमा चोट लागेको आफन्तले जनाएका छन् । गम्भिर घाइते विश्वकर्माको सामुदायिक अस्पताल जालपामा उपचार भइरहेको छ । बिहीबार दिउँसो घरमै बसिरहेको अवस्थामा घर भत्किँदा उहाँ घाइते हुनुभएको जनाइएको छ । लगातारको वर्षाले विश्वकर्माको तीन तले घर भत्किएको दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
वर्षा नरोखिएकाले जिल्लाका दुर्घटना हुन सक्ने स्थानका स्थानीयबासीलाई सुरक्षित स्थानतर्फ सार्न सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाका विभिन्न ठाउँमा पहिरो जाने सम्भावना देखिएकाले नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।’