साउन–३०, नेपाल सितोरियो कराते संघ खोटाङ र ठमेल ह्याण्डीक्राफ्ट व्यवसायी संघले सिन्धुपाल्चोकका पहिरो पीडितलाई ८० हजार बराबरको घरायसी सामाग्री प्रदान गरेको छ । काठमाडौं निबासी कराते संघ र ह्याण्डीक्राफ्ट व्यवसायी संघका पदाधिकारीले राजधानीमा संकलन गरेको राहत रकमले खरिद गरिएको बन्दोबस्तीका सामाग्री पहिरो पीडितलाई प्रदान गरेका हुन् ।
सितोरियो संघ र ह्याण्डीक्राफ्ट व्यवसायी संघले बिहिबार सिन्धुपाल्चोकमा पुगेर ७९ हजार पाँच सय १५ को भाँडाकुँडा, लत्ताकपडा लगायतका बन्दोबस्तीका सामान प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई हस्तान्तरण गरेका हुन् । राहत स्वरुप संकलन गरिएको रकमबाट ५५ घर परिवारलाई पुग्ने भाँडाकुडा र लत्ताकपडा जुटाएर हस्तान्तरण गरिएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जय राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ प्राकृतिक बिपत्तीमा परेका ५५ परिवारलाई पुग्ने थाल, भाँडा, कराही, डाडु, पन्यू गरी दश–दश सेट सामान प्रदान प्रदान गरेका छौं ।’
नगद रकम प्रदान गर्ने तयारी गरिएको भएपनि बन्दोबस्तीका सामाग्री प्रदान गर्नु पीडितका लागि प्रभावकारी हुने सुझाबका आधारमा भाँडाकुँडा र कपडा किनेर दिइएको संघले जनाएको छ । नेपाल सितोरियो कराते संघका पदाधिकारी, ठमेल ह्याण्डीक्राफ्ट व्यवसायी संघका ज्ञानबहादुर सुनुवार, खोटाङका कांग्रेस नेता इच्छुराम राना, पत्रकार भीम राई सहितको टोली सिन्धुपाल्चोक पुगेर राहत सामग्री प्रदान गरेका हुन् ।