साउन–३० ।  लगातारको वर्षाले ठाउँ–ठाउँमा पहिरो जान थालेपछि जोखिमयुक्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ । तीनदिनदेखि लगातार परेको वर्षाले ठूलो मात्रामा क्षति गर्न थालेपछि सम्भावित दुर्घटनाबाट जोगाउन दुर्घटनाग्रस्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको हो । 
जिल्लाको फेदी, पाथेका, बास्पानी, खार्मी लगायतका पहिरोको उच्च जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण बिस्थापित बनेका फेदी–२ को ६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 
घर पहिरोको जोखिममा परेपछि स्थानीय लाखबहादुर राई, रत्नमणी राई, राममायाँ राई, कृष्णमणी राई, नेत्रमणी राई र टिका विश्वकर्माको परिवारलाई गाविसको भवनमा सारिएको हो । उनीहरुलाई सदरमुकाम दिक्तेलबाट गएको नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो ।
पहिरोले घर तान्न थालेपछि बुधबार नै बिस्थापित बनेका फेदी–५ का नौमणी दर्जी, रामबहादुर राई, ज्ञानबहादुर सार्की, हर्कबहादुर दर्जी र मायाँ राईको परिवारलाई पनि स्थानीय पत्करु निमाविको भवनमा सारिएको छ । 
माथीबाट झेरको पहिरोले बुधबार फेदी–३ का ३५ वर्षीय अष्टकुमार राईको ज्यान गएको थियो । स्थानीय पञ्चमी–छमुवा लघुजलविद्युत आयोजनाका प्राविधिक राईको सोही विद्युत पावरहाउसमा सुतीरहेको अवस्थामा ज्यान गएको हो ।