साउन ३० । पहिरोले घर किच्दा गम्भिर घाइते बन्नुभएकी जालपा–४ की ४५ वर्षीया असारी विश्वकर्माको उपचारका लागि आर्थिक अभाव भएको छ । पहिरोले घर किच्दा दाहिने खुट्टा भाँचिनुका साथै टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भिर घाइते बनेकी विश्वकर्माको स्थानीय जनसेवा सामुदायिक अस्पताल जालपामा उपचार हुन नसकेपछि थप उपचारका लागि अन्यत्र लैजान आर्थिक अभाव भएको हो ।
घरमै बसिरहेको अवस्थामा बिहिबार दिउँसो भत्किएको घरले किचिएकी विश्वकर्माको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । निम्न आर्थिकस्तर भएका विश्वकर्माको उपचारका लागि राज्यले सहयोग नगरे उपचार सम्भव नहुने आफन्तको भनाइ छ । 
पहिरोले किचिएकी विश्वकर्मालाई थप उपचारका लागि काठमाडौं लैजान हेलीकोप्टर बन्दोबस्त गरिए पनि मौषमका कारण आउन नसकेको प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाइ छ । उहाँले भन्नुभयो, ‘गृहमन्त्रालयमा खबर गरेर हेलीकोप्टर त तयार गरियो, तर मौषमका आउन सकेन ।’ 
प्रशासनको पहलमा ल्याउन खोजिएको हेलीकोप्टर समेत आउन नसकेपछि विश्वकर्माको अवस्था झनै गम्भिर बन्दै गएको स्थानीय विकास राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बेला सबैले सहयोग गर्ने अवस्था आएको छ ।’

यसैबीच, माथिबाट खसेको पहिरोका कारण जिल्लाको बाँस्पानी–१ का हरिबहादुर खड्का, विन्दा खड्का, सुर्यबहादुर खड्का, जयबहादुर खड्का, अमिन बहादुर राईको परिवार बिस्थापित भएका छन् । 
उनीहरुलाई गाविसको भवनमा राखिएको गाविस सचिव रामबहादुर बस्नेतले जानकारी दिनुभयो ।
पहिरोले घर भत्किएपछि दोर्पाचिउरीडाँडा–७ का चन्द्रबहादुर राई र धननारायण प्रधानको परिवार बिस्थापित बनेको प्रशासनले जनाएको छ । उनीहरु आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् ।