ज्ञापन–पत्रमा भनिएको छ, ‘आफ्नो गाविसमा जानकारी नदिइ सञ्चालन गर्न लागिएको योजना कुनै पनि हालतमा सञ्चालन गर्न दिँदैनौं, यदि जबरजस्ती योजना सञ्चालन गरिए त्यसबाट उत्पन्न हुने समस्याको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ ।’
सञ्चारकर्मीहरुसँग कुरा गर्दै तावाखोला लघुजलविद्युत आयोजनाका अध्यक्ष कर्णबहादुर तामाङले योजना सञ्चालन गरिए विद्युत आयोजना बन्द हुने हुँदा तत्काल प्रक्रिया बन्द गर्न आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘योजना बन्दको आग्रह गर्न स्थानीयको हस्ताक्षर सहित ज्ञापन–पत्र पेश गरेका छौं ।’
विद्युतको पावर हाउसभन्दा केही माथिबाट सञ्चालन गर्न लागिएको सिंचाई योजनाका लागि ठेक्का प्रक्रिया सम्पन्न भइसक्दा पनि आफूहरुलाई कुनै जानकारी नदिएको अध्यक्ष तामाङको भनाइ छ । सिंचाई योजना सञ्चालन भए हाल विद्युत उपभोग गर्दै आएका तीन सयबढि उपभोक्ता अध्यारोमा बस्नुपर्ने अवस्था सृजना हुने अध्यक्ष तामाङले बताउनुभयो ।
खिदिमाको वडा नम्बर–४, ५, ६, ७ र ८ का साथै छितापोखरी र मात्तिमको केही वडामा सञ्चालित विद्युत केही समयमै अपग्रेड गर्ने तयारी गरिएको आयोजनाका सचिव लोकप्रसाद राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सिंचाई योजना सञ्चालन भयो भने, हाम्रो विकासको ढोका नै बन्द हुनेछ ।’
यसबारे खिदिमाबासी र सिंचाई योजनाका पदाधिकारीहरुबीच छलफल गराएर समाधानको बाटो खोजिने कार्यालय प्रमुख हरिप्रसाद गुरागाइँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘योजना स्वीकृत भएर ठेक्का समेत लागीसकेकाले बन्द गर्न भने मिल्दैन ।’
उता, उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद शर्मा फुयाँलले भने, हाइड्रोपावरलाई असर नपुग्नेगरी योजना सञ्चालन गर्ने सम्झौता भएको बताउनुभयो । पूर्व सांसद समेत रहनुभएका अध्यक्ष फुयाँलले भन्नुभयो, ‘यो कुनै नयाँ योजना हैन, यस वर्ष बजेट मात्र परेको हो, बिरोध गर्नुको कुनै अर्थ छैन ।’
उहाँका अनुसार उक्त योजना २० वर्ष पहिलेदेखि सञ्चालनमा रहेको छ । उहाँले दिएको जानकारी अनुसार योजना अपग्रेडका लागि यस वर्ष दुई करोड तीस लाखको ठेक्का समेत परीसकेको छ ।
सिंचाई योजना सम्पन्न भएपछि मात्तिमको वडा नम्बर–३, ४, ६, ८ र ९ मा पर्ने सुख्खाग्रस्त क्षेत्रका उपभोक्ता लाभान्वित हुने उपभोक्ता समितिको भनाइ छ ।