भदौ १ । एकीकृत नेकपा माओवादी खोटाङको अध्यक्षमा देवान किराती ‘पृथ्वी’ चयन हुनुभएको छ । सदरमुकाम दिक्तेलस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको चौथो पूर्ण बैठकले ‘पृथ्वी’लाई अध्यक्षमा चयन गरेको हो ।

पूर्व अध्यक्ष रामकुमार राई ‘पासाङ’ र उपाध्यक्ष समिता कार्की ‘अस्मिता’ केन्द्रीय कमिटिमा चयन हुनुभएपछि रिक्त रहेको पदमा हेरफेर गरिएको एमाओवादीले जनाएको छ । यस्तै, उपाध्यक्षमा दुधमान तामाङ ‘निर्मल’, सचिवमा दुर्गाजयन्ती राई, सहसचिवमा सुरेश राई र कोषाध्यक्षमा दिपक पाण्डे ‘आकाश’ चयन हुनुभएको छ ।

पार्टीलाई थप सुदृढ बनाउदै अगाडि बढ्न क्षेत्र नम्बर–१ मा जिल्ला सचिव सुरेश र क्षेत्र नम्बर–२ का लागि कोषाध्यक्ष आकाशलाई निर्वाचन क्षेत्रको ईन्चार्ज तोकिएको छ भने, कार्यालयको कामलाई चुस्त÷दुरुस्त राख्नका लागि जिल्ला सदस्य होमकाजी आचार्य ‘विनोद’लाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ ।

पार्टी कार्यालयमा तीनदिनसम्म चलेको बैठकले प्रत्येक गाउँ कमिटिले एक÷एक वटा रचनात्मक काम गर्नुपर्ने निर्णय गरेको सचिव राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको काम बाहेक बाटो निर्माण, टोल तथा बजार सरसफाई जस्ता गतिविधि सञ्चालन गर्नुपर्नेछ ।’

पार्टीको केन्द्रीय विवाद व्यवस्थापन समितिको निर्णय अनुसार प्रशिक्षण कार्यक्रम रोकेर अन्य निर्णयहरु मात्र गरिएको एमाओवादीले जनाएको छ । जिल्ला कमिटिले असार–२७, २८ र २९ गते प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।