भदौ ८ ।  वी.पी. विचार यात्रा खोटाङ प्रवेश गरेको छ । बिराटनगरबाट सुरु भएको विचार यात्रा सुनसरी, धनकुटा, भोजपुर हुँदै आइतबार खोटाङ आइपुगेको हो ।

तीन दिन भोजपुरमा रहेको टोलीलाई खोटाङ र भोजपुरको संगमस्थल चखेवाभञ्ज्याङमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस भोजपुरका जिल्ला सभापति बालकृष्ण थापाले खोटाङ सभापति विष्णुकुमार राईलाई झण्डासहित टोली हस्तान्तरण गर्नुभएको नेविसंघका जिल्ला सभापति राजकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार बाँझेच्यानडाँडाको चखेवाभञ्ज्याङदेखि सुरु भएको विचार यात्रा भदौ–१२ गते लामीडाँडाको रभुवामा पुगेर समापन हुने छ ।

कोइरालाको शतवार्षीकीको अवसरमा सुरु वी.पी विचार यात्रा अन्तरगत खोटाङ आइपुगेको टोलीले बाँझेच्यानडाँडाको चखेवाभञ्ज्याङमा वी.पी. खानेपानी तथा सहिद कालुमान गुरुङ स्मृति पार्क शिलान्यास गरेको छ । केन्द्रीय समितिका नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यको टोलीले शिलान्यास गरेको हो ।

बाँझेच्यानडाँडाबाट यात्रा थालेको टोलीले निर्मलीडाँडामा कार्यकर्ता भेटघाट, दोर्पाचिउरीडाँडामा वी.पी. जागरणसभा तथा साकेला शिली प्रदर्शन, दिक्तेलबजारमा वी.पी. कोइरालाको जीवनीमा आधारित वृत्तचित्र प्रर्दशनी तथा वी.पी. विचार गोष्ठी, नुनथलामा कार्यकर्ता भेटघाट, अर्खौलेको विजुलेभञ्ज्याङमा सहिद पदमप्रकाश पुरी स्मृति पार्कको शिलान्यास, लामीडाँडामा नेपाल महिला संघको आयोजनामा तीज विशेष कार्यक्रम तथा  रभुवामा बिदाइ कार्यक्रम गरिने जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वी.पी. विचार यात्राको माध्यमबाट नयाँ पुस्तालाई कांग्रेसको सिद्धान्तका साथै राष्ट्र र जनताका लागि निर्वाह गर्नुपर्ने जिम्मेवारीतर्फ अग्रसर गराइने छ ।’

भदौ–१२ गते ओखलढुङ्गा प्रस्थान गर्ने टोलीले रामेछाप, बनेपा हुँदै काठमाडौंमा पुगेर वी.पी.को जन्म दिन पारेर भदौं २४ गते समापन कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ ।