भदौ ९ । बि.पी विचार यात्राको टोलीसँग च्यानडाँडा गाविसबासीले स्थानीय विकासका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
स्थानीयहरुले शिक्षा, स्वास्थ्य, खानेपानीका साथै पुल निर्माण लगायत स्थानीयलाई लाभान्भित हुने गरी विकासका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।
च्यानडाँडास्थित सेखुवालीले भने सेखुवाको माथिल्लो भेग र निर्मलीडाँडाको माथिल्लो भेगलाई लाभान्भित हुने गरी साम्सु खोलामा एउटा पुल निर्माणका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् । सेखुवाको झगरपुर टोलबाट लामाखु जाने बाटोस्थित साप्सु खोलामा पुल निर्माण गरिदिन उनीहरुले माग गरेका हुन् । वर्षाको सयममा उक्त बाटो बाढीका कारण प्रभावित हुँदै आएको छ । उक्त ठाउँमा पुल बनेमा हजारौं व्यक्ति प्रत्यक्ष्य लाभान्वित हुने छन् ।
‘यो ठाउँमा वारीपारी आउजाउ गर्न निक्कै गाह्रो भएकाले हामीले पुल बनाईदिन माग गरेका छौं’ पुराना कांग्रेस कार्यकर्ता समेत रहेका स्थानीय प्रेम बहादुर रोकाले भन्नुभयो, ‘उहाँहरुले आफ्नो मागलाई केन्द्रसम्म पुर्याईदिने र सक्दो सहयोग गछौं भन्नु भएको छ ।’
पार्टीका लागि आफूहरुले निक्कै योगदान गरेको भन्दै उहाँले पुल निर्माण नगरिदिए काठमाडौं गएर पार्टी सभापतिलाई नै भेटेर समेत पुल बनाईदिन माग गर्ने समेत बताउनुभयो ।
विराटनगरबाट सुरु भएको विचार यात्रा सुनसरी धनुकुटा भोजपुर हुँदै आइतबार खोटांग पुगेको हो ।
तीन दिन भोजपुरमा रहेको टोलीलाई खोटांग र भोजपुरको संगमस्थल चखेवाभन्ज्यांगमा आयोजित एक कार्यक्रमबीच कांग्रेस भोजपुरका जिल्ला सभापति बालकृष्ण थापाले खोटांग सभापति विष्णुकुमार राईलाई झण्डासहित टोली हस्तान्तरण गर्नु भएको थियो ।