भदौ–१२, मजदुर कुटपिट गरेको आरोपमा खोटाङका एक मोटरबाईक वर्कशपका सञ्चालक पक्राउ परेका छन् । दुई वर्षदेखि खोटाङ मोटर पार्टस एण्ड वर्कशपमा काम गर्दै आएका एक मजदुरलाई निर्घात कुटपिट गर्ने वर्कशप सञ्चालक ज्ञानबहादुर राई पक्राउ परेका हुन् । 
आफूलाई बिना कारण कुटपिट गरेको र मानसिक तनाव दिएको भन्दै पीडितले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईले दुई वर्षदेखि मासिक तीन हजारमा काम लगाएको र पारिश्रमिक बढाइ दिन माग गर्दा उल्टै निर्घात कुटपिट गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।
मंगलबार पक्राउ परेका राईविरुद्ध सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा दर्ता गरेर कारबाहीका प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उनको यसअघिको रेकर्ड पनि राम्रो नभएकाले पटकेमा समेत हालिएको छ ।’