भदौ–१४ । वर्षाका कारण तीन महिनादेखि अवरुद्ध खोटाङको दिक्तेल–हुर्लुङ सडक सुचारु भएको छ । गत जेठदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक अन्तरगत दिक्तेल–हुर्लुङ सडक खण्ड शनिबारदेखि सुचारु भएको हो ।

अवरुद्ध सडक सुचारु भएसँगै अब सदरमुकाम दिक्तेलबाट सिधै जयरामसम्मको यातायात सेवा सञ्चालनमा आएको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राईले बताउनुभयो । प्रशासनको आग्रहमा यातायात व्यवसायी संघ, उद्योग वाणिज्य संघ र दिक्तेल–हलेसी सडक कालोपत्रेको काम गरिरहेको नागार्जुन र लामा नागार्जुन त्रिसुलीका ठेकेदारले संयुक्तरुपमा मर्मत गरेपछि अवरुद्ध सडक सचारु गराइएको हो ।

प्रशासन, सुरक्षा प्रमुख, यातायात व्यवसायी, उद्योगीको टोलीले अनुगमन गरेपछि सो सडकमा यातायात सेवा सुचारु गराइएको महासचिव राईले जानकारी दिनुभयो । सर्वसाधारणको हितलाई ध्यानमा राखेर अवरुद्ध सडक मर्मत गर्दै सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो ।

जिल्लाबाट तराई जाने र आउने एक मात्र सडककारुपमा रहेको दिक्तेल–हुर्लुङ सडक अवरुद्ध हुँदा दिक्तेलबाट हुर्लुङ र हुर्लुङबाट दिक्तेलसम्म दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । वर्षाको पानीले सडक हिलाम्मे र खाल्डाखुल्डी बनेपछि राजधानी तथा तराईबाट दिक्तेल भित्रिने सवारी साधनहरु हुर्लुङसम्म जाने र फर्किने गरेको थियो ।

कमेरो माटो भएको र विभिन्न ठाउँमा पानीको मुहान भएकाले पनि यस सडक खण्ड प्रत्येक वर्षा याममा अवरुद्ध हुने गरेको छ । उक्त सडक खुलाउन यसअघि पनि प्रशासनले पहल गरेको थियो ।